चिकित्सा शिक्षा क्षेत्रका समस्याको अध्ययन गर्न कार्यदल बनाइने

लोकप्रिय

काठमाडौँ, भदौ २२ गते ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनाउने भएको छ ।

शुक्रबार बसेको समितिको बैठकमा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै समाधानको उपाय खोज्न एउटा कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको हो ।

कार्यदल भने समितिको आगामी बैठकमा बनाइने भएको छ । समितिका सभापति भानुभक्त जोशीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गर्न र समाधानका उपायहरु खोज्न कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको जानकारी गराउनु भयो ।

बैठकमा चिकित्सा शिक्षाको गुणस्तर र सम्बन्धनका विषयमा समितिमा आएका उजुरीका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सँग छलफल भएको थियो । समितिको आगामी बैठक भदौ २५ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

ताजा समाचार

Related Articles