हेटौँडा, भदौ १४ गते । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सबैभन्दा ठुलो धर्म मानव सेवा भएको बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा जन्मदिन मनाउन शनिबार पुग्नुभएका थापाले राज्य सबैको संरक्षक भएको बताउनुभयो । ‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दै छ’, उहाँले भन्नुभयो ।
हेटौँडा अस्पतालको नामाकरण कहिल्यै पनि परिवर्तन नहुने बताउँदै उहाँले प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिने स्पष्ट पार्नुभयो । त्यसैले विरोधका लागि विरोध नगर्न थापाले आग्रह गर्नुभयो ।
प्रदेश सरकारले यस वर्ष बजेटमा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बिमाको रकम बेहोर्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य काम यही हो’, उहाँले भन्नुभयो ।
मानव सेवा आश्रमले मानवीय काम गरेको प्रति प्रशंसा गर्दै आश्रितहरूको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानव सेवा आश्रमले ईश्वरीय काम गरेको उहाँले बताउनुभयो ।
मानव सेवा आश्रमका बिरामीलाई हेटौँडा अस्पतालले निःशुल्क उपचारको व्यवस्था गर्ने थापाले जानकारी गराउनुभयो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको बताउँदै त्यसको प्राक्टिकल हेटौँडा अस्पतालमा सञ्चालन गरिएको थापाले जानकारी दिनुभयो । ‘आज तीन सय बेडमा त्यो हेटौँडा अस्पताल सुरु भएको छ, अस्पतालमा अहिले दैनिक १३/१४ सय बिरामीले ओपिडी सेवा लिइरहनु भएको छ, मकवानपुरवासीले मात्र होइन आज मधेस प्रदेशका चार जिल्लाले समेत सेवा लिइरहनुभएको छ’, उहाँले भन्नुभयो ।
उहाँले प्रतिष्ठान मार्फत हेटौँडामा एमडीको पढाइ सुरु भएको जानकारी दिनुभयो ।
उहाँले सबै मिलेर हेटौँडा अस्पताललाई पाँच सय बेडको अस्पताल बनाइने बताउनुभयो । ‘यदि मकवानपुरवासीको सबैको साथ र सहयोग भयो भने हेटौँडा अस्पताल अबको दुई चार वर्ष पछाडि काठमाडौँको टिचिङ अस्पतालको दाँजोमा पुग्ने छ’, उहाँले भन्नुभयो ।
उहाँले जन्मदिनको अवसरमा आश्रमका आश्रितलाई बिहानको खानाको व्यवस्था गर्नुका साथै आश्रममा आश्रितसँग सँगै खाना खानुभएको थियो ।




