हेटौँडा, भदौ १५ गते । मकवानपुर प्रहरीले गाँजा र खैरो हेरोईनसहित जिल्लाको छुट्टाछुट्टै स्थानबाट १० जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ३ र ११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पूर्व पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको बसामाडी चौकी अगाडि नेवारपानी तर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–००२ ज ६५४९ नं. को विद्युतीय गाडीबाट चालक काभ्रे पाँचखाल नगरपालिका ८ का २१ वर्षीय सुदीप तामाङ, २० वर्षीय सविन तामाङ र दोलखा सैलुङ गाउँपालिका ८ का २२ वर्षीय सागर तामाङलाई आइतबार गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाबाट र प्रहरी चौकी बसामाडी लेवट मकवानपुरको संयुक्त प्रहरी टोलीले विद्युतीय गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याईएको ११२ किलो ७९० ग्राम फेला पारेको थियो ।
यसैगरी प्रहरीले आइतबार नै मकवानपुरको राक्सीराङ गाउँपालिका १ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दीप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तानलाई गाँजासहित पक्राउ गरेको छ ।
हेटौँडा ३ बसामाडी चौकी अगाडि नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ०५०३ नं. को यात्रुबाहक विद्युतीय गाडीमा सवार तीनै जनालाई खानतलासी गर्दा निजहरुले बोकेको झोलामा लुकाई ल्याईएको २६ किलो १० ग्राम फेला पारेको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।
यस्तै प्रहरीले लागूऔषध खैरोहेरोईनसहित चार जनालाई हेटौँडा ११ बाट पक्राउ गरेको छ ।
लागूऔषध कारोवार भईरहेको अवस्थामा हेटौँडा ११ थानाभ¥याङस्थित ३८ वर्षीय कवि कार्कीको कोठाबाट कार्की, २६ वर्षीय उमेश लामा, मकवानपुरको बकैया गाउँपालिका वडा नं. ४ का ३३ वर्षीय सुरेश घलान र मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का २९ वर्षीय सुनिल न्यौपानेको साथबाट एक ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीले गाँजा र खैरो हेरोईनसहित पक्राउ परेको १० जनालाई लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।




