हेटौँडा, भदौ १५ गते । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आन्तरिक प्रतिस्पर्धामा भएको जितहारलाई सधैं प्रतिष्ठाको विषय बनाउन नहुने बताउनुभएको छ ।
नेपाली कांग्रेस मकवानपुरले आइतबार हेटौँडामा आयोजना गरेको कांग्रेसका तहगत सभापतिहरुका लागि विशेष पुनर्ताजगी कार्यक्रममा बोल्दै उहाँले पार्टीभन्दा व्यक्ति ठुलो कोही नहुने भएकोले पार्टीको निर्णय मान्नुपर्ने बताउनुभयो
। उहाँले निर्वाचनमा जनताको मतबाट जित्ने भएकोले जनताले पार्टीलाई मत दिने आधार बनाउनुपर्नेमा जोड दिँदै पार्टीभित्रको मतभेदलाई सामाजिक सञ्जालमा लेख्ने भन्दा पार्टीभित्र आन्तरिक रुपमा छलफलबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
उहाँले नागरिकले अनुभूति गर्ने गरी वर्तमान सरकारले काम गर्ने भन्दै त्यो दायित्व आफूमा आएको बताउनुभयो ।
पार्टीभित्रको समस्या पार्टीभित्रैबाट समाधान गर्नुपर्छ, उहाँले भन्नुभयो, सामाजिक सञ्जालमा लेख्ने र विवाद सिर्जना गर्ने होइन पार्टीभित्र बसेर छलफलबाट समाधान गर्नुपर्छ ।
उहाँले सुशासन र पारदर्शीका लागि उत्तरदायी भएर काम गर्ने बताउनुभयो ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपसभापति धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत र ईश्वर पाठक, सहसचिव ईन्दिरा न्यौपाने, अनुशासन समिति संयोजक प्रभात दाहाललगायतले कांग्रेसको संगठनको गतिविधि र आगामी कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।




