हेटौँडा, भदौ १७ गते । मकवानपुरको मकवानपुरगढी गाउपालिकाले वडा नं २ र ७ को सिमा रहेको कार्की खोलामा पक्की पुल निर्माण गर्न बागमती प्रदेश सरकारसँग माग गरेको छ ।
पुल अभावमा वर्षायाममा कार्कीखोला तर्ने क्रममा मानवीय क्षति भएपछि पालिकाले वडा नं. २ र ७ जोड्ने गरी पक्की पुल निर्माण गर्न बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसमक्ष बजेट माग गरेको हो ।
भदौको पहिलो साता कार्कीखोलामा आएको बाढीले स्थानीय एक युवकको मृत्युभएको थियो । यही भदौ ६ गते कार्की खोला तर्न लाग्दा एक्कासि आएको बाढीले मकवानपुरगढी गाउँपालिका वडा नं २ छापका विनोद भोम्जनको मृत्युभएको हो । थियो । भोम्जनलाई बगाएको तेस्रो दिन मनहरी गाउँपालिका, ज्यामिरेस्थित राप्ती खोला बगरमा शव भेटिएको थियो ।

गाउँपालिकाको वडा नं ७ र ८ का बासिन्दाहरु गाउँपालिकाको केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुली आउने र गाउँपालिकाको वडा नं. ८ को बुढीचौरमा उत्पादित कृषि उत्पादन हेटौँडा बजारसम्म लैजाने अवरुद्ध हुँदा समस्या भएकोले पक्की पुल निर्माण गर्न बजेट माग गरिएको वडा नं. २ का वडाध्यक्ष बखानसिंह पाख्रिनले जानकारी दिनुभयो ।
्शिवम् सिमेन्ट उद्योगको खानी संचालनको सडकमा रुपमा रहेको बुढीचौर–सुकौरा–बासपानी सडक अन्तर्गत गाउँपालिका वडा नं २ र ७ जोडने कार्की खोलामा पक्की पुल नभएको कारण नियमित रुपमा सवारी साधन संचालन गर्न समस्या भइरहने मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बुझाइएको पत्रमा उल्लेख छ । पुल निर्माण गर्न बजेट माग गर्दै संविधान सभा सदस्य प्रल्हाद लामिछाने, मकवानपुरगढी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बखानसिंह पाख्रिन, वडा नं. ७ का वडाध्यक्ष सूर्यबहादुर रुम्बालगायत मुख्यमन्त्री कार्यालय पुग्नुभएको थियो ।
मागपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले स्थानीयको माग संवोधन गर्न सरकारले आवश्यक पहल र व्यवस्था गर्ने बताउनुभयो ।




