बकैयामा पेट्रोलको ड्रम पल्टेर घरमा आगलागी हुँदा एक जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ २० गते । पूर्वी मकवानपुरको बकैया गाउँपालिका ५ गरगरेमा पेट्रोलको ड्रमबाट पेट्रोल भर्नेक्रममा ड्रम पल्टन गई दियोको बत्तीमा आगो सल्केर आगलागी हुँदा एक जना घाइते र ठुलो परिणाममा धनमाल क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान स्थानीय लिलाराम जिम्बाको किराना पसलमा आगलागी हुँदा नगदसहित दुई करोड रूपियाँ बराबरको क्षति भएको छ ।
घर अगाडि बालेको दियोमा पसलेले पेट्रोलको ड्रमबाट पेट्रोल भर्ने क्रममा ड्रम पल्टन गई आगो सल्किएर आगोलागी भएको घरधनीले प्रहरीलाई बताएका छन् ।
आगो निभाउने क्रममा पसल सञ्चालक ४५ वर्षीय जिम्बाको दुवै हात र खुट्टामा पोलेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा पुनः चुरेहिल अस्पताल मकवानपुरमा ल्याईकोमा शरीरको अगाडिको ४० प्रतिशतभन्दा बढी भाग जलेकोले थप उपचारका लागि वर्न अस्पताल कीर्तिपुर लैजान सिफारिश गरिएको थियो । घाइतेको अवस्था मध्यम रहेको छ । बिहान ७ः४५ बजेको समयमा आगलागीभएको प्रहरीले जनाएको छ । आगलागीबाट कुकुरको बच्चा जलेर मरेको छ ।
आगलागीबाट दुईतले पक्की घर पूर्णरुपमा जलेको छ । आगलागीबाट नगद १५ लाख, ग्यास सिलिन्डर ३० थान जलेको, पेट्रोल, डिजेल, खाद्यान्न, अन्नपात, लत्ताकपडा, फर्निचरको सामानलगायत सामानहरु जलेर नष्ट भएको प्रहरीको भनाई छ । यस्तै घरधनीको बाप्र०३–००६ प १८९७ पल्सर मोटरसाइकल र सामान किनमेल गर्न आएको स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नं को मोटरसाइकल जलेर नष्ट भएको छ ।
घरमा लागेको आगलागी स्थानीय बासिन्दा, प्रहरी र बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको बारूणयन्त्रको सहयोगमा ९ः४५ मिनेटमा नियन्त्रण आएको थियो ।

ताजा समाचार

Related Articles