काठमाडौँ, भदौ २८ गते । प्रतिनिधि सभामा प्रतिनिधित्व राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका अन्य दलहरुले प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन आठ राजनीतिक दलहरूले आग्रह गरेका छन्। यसअघि संसदमा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाउन माग गरेका हुन्।

‘नेपालको संविधान तथा प्रचलित कानुन बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरीत अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधि सभाको विघटन गरिएको छ। लोकतान्त्रिक र कानुनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानुन बमोजिम हुनुपर्ने र सबै निकायहरू संविधान र कानुनबमोजिम सञ्चालन हुनुपर्दछ भन्ने कुरामा हाम्रो अटल विश्वास रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
