हेटौँडा, भदौ २८ गते । जेन–जीको आन्दोलनका कारण बन्द भएका मकवानपुरको निजी तथा संस्थागत शिक्षण संस्थाहरू आइतबारदेखि सञ्चालन गर्ने तयारी भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चितकालका लागि बन्द भएका शिक्षण संस्था आइतबारदेखि सञ्चालन हुने भएका हुन् । जिल्लाका निजी विद्यालयले आइतबार (भोलि) देखि पठनपाठन सुचारु गर्ने जनाएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीका अनुसार जनजीवन सहज बन्दै गएको र जिल्ला सुरक्षा समितिले पनि निषेधाज्ञा र कर्फ्यु हटाएपछि विद्यालय सुचारु गर्ने तयारी रहेको छ । जिल्लाका सबै निजी विद्यालयलाई विद्यालय सुचारु गर्न भनिसकेको उहाँले बताउनुभयो ।

यस्तै जिल्लाको थाहा नगरपालिकाले भोलि आइतबारदेखि विद्यालयको पठनपाठन सुचारु गर्ने भएको छ । नगरपालिकाले आज (शनिबार) एक सूचना जारी गर्दै आइतबारबाट पठनपाठन सुचारु हुने जनाएको हो । यस्तै हेटौँडा उपमहानगरपालिका सामुदायिक विद्यालयहरूमा पठनपाठन सुचारु गर्न छलफल भइरहेको जनाइएको छ । जनजीवन सामान्य बन्दै गएकोले आइतबारदेखि विद्यालय सञ्चालन गर्न छलफल भइरहेको हेटौँडा उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत राजमणि शर्माले जानकारी दिनुभयो । पालिकाले निर्देशन नआएका कारण विद्यालयका प्रधानाध्यापकहरू भने अन्योलमा छन् । हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईँ र श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहालले आइतबारदेखि विद्यालय सञ्चालन गर्न तयार रहेको जानकारी दिनुभयो ।
