काठमाडौँ, असोज ३ गते। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सङ्कल्पका साथ क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने आवश्यकता यतिबेला सबैको भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संविधानमार्फत स्थायित्व र विकासका लागि संविधानमा संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्ने आवश्यकता यतिबेला सबैको भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफूलाई ठूला भन्ने दलहरूको अहङ्कारले आज देश यस्तो परिस्थितिमा आइपुगेको भन्दै जेनजी विद्रोहले १० वर्षअघि आफूहरूले राखेका रिजर्भेसनहरू र मतहरू सही थिए र फेरि एकचोटि तिनको पुनर्लेखन गरी संविधान संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको बताउनुभयो ।

संसद् विघटन मात्रै नभई संविधान खारेज गर्ने र राष्ट्रपतिलाई पदबाट हटाउन भएका कसरतहरूलाई आफूले नजिकबाट बुझेको र निकासमा लागि आफूले पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले अब तोकिएको मितिमा निर्वाचन गरेर जेनजी आन्दोलनका विद्रोहीहरूको भावना अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने बाटो संवैधानिक रूपमा खुलोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।




