विपन्नलाई सेवा प्रवाहमा प्राथामिकता

लोकप्रिय

हेटौँडा, जेठ २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रेडक्रसलाई गुनासो रहित सेवा प्रवाह गर्नु पर्ने बताउनुभएको छ । रेडक्रस सोसाइटीका जिल्ला शाखाहरू मार्फत प्रवाह भइरहेको रक्तसञ्चार सेवा थप विस्तारका लागि ब्लड बैँक रेफ्रिजेरेटर बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा जिल्ला रेडक्रसका पदाधिकारीलाई हस्तान्तरण गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले यस्तो बताउनुभएको हो ।
उहाँले रेडक्रसले रगत सङ्कलन, मौज्दातदेखि वितरणसम्ममा सेवाग्राहीको गुनासो आउने गरेको भन्दै अनुशासित भएर गम्भिरतापूर्वक गुनासोसहित सेवा उपलब्ध गराउनु रेडक्रसको दायित्व भएको  बताउनुभयो ।

प्रदेश सरकारले ब्यागमा अनुदान निरन्तर उपलब्ध गराउँदै आएको र रक्त सङ्कलनका क्रममा आवश्यक सामाग्रीको मागप्रति सकारात्मक रहेको भन्दै मुख्यमन्त्री बानियाँले भन्नुभयो, “रेडक्रसले विपद्का समयमा गरेको योगदान प्रसंशनीय रहेको छ ।” उहाँले प्रदेश सरकारले विपन्नलाई सेवा प्रवाहमा प्राथामिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेडक्रसद्वारा सञ्चालित ब्लड बैँकलाई रेफ्रिजेरेटर सहयोगको सुरु गरिएको भन्दै सेवा प्रवाहमा रेडक्रस र सरकारबिच नङ र मासुबिचको जस्तै सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले रेडक्रसले भूकम्पको, विपद् र महामारीको समयमा सबैभन्दा पहिला पुगेर उद्धार र राहतको कार्य गर्दै आएको चर्चा गर्दै रगत आवश्यक हुँदा र समस्या पर्दा रेडक्रसले अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्ने गरेको बताउनुभयो  ।  मन्त्री थापाले रेडक्रस मानवीय सेवाप्रति समर्पित भएर काम गर्ने पवित्र संस्था भएको बताउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटीका बागमती प्रदेश सभापति भोला रुपाखेती, रेडक्रसका पूर्व केन्द्रीय उपमहासचिव मनोजकुमार थापालगायतले रेडक्रसको सेवालाई प्रभावकारी बनाउने दायित्व बढ्दै गएको बताउनुभयो । रसुवा र सिन्धुपाल्चोक बाहेकका जिल्लाका रेडक्रसलाई ११ थान ब्लड बैँक रेफ्रिजेरेटर सम्झौतासहित  हस्तान्तरण गरिएको छ।

ताजा समाचार

Related Articles