मकवानपुर, जेठ २८ गते । हेटौँडा उपमहानगरपालिकाले उज्यालो नगरको अवधारणा अनुसार उपमहानगरको २७ स्थानमा हाइमास्ट लाइट जडान गरेको छ । रात्रिकालीन आवतजावत र यात्रा सहज बनाउन उपमहानगरले हेटौँडा–४ हुप्राचौरको चार स्थान, हेटौँडा–१ तरकारी बजार दुई वटा, हेटौँडा २ को सङ्गमचौकसहित हेटौँडाका २७ मुख्य चोकमा हाईमास्ट लाइट जडान गरेको हो ।

नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा जडान गरिएको हाईमास्ट लाइटले रातिको समयमा हेटौँडाको मुख्य चौकहरु उज्यालो र झलमल देखिएको छ । हाईमास्ट लाइटका कारण सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न सहयोग पुग्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनले बताउनुभयो । उहाँले हाईमास्ट लाइट जडानसँगै अत्यावश्यक कामको क्रममा रातिको समयमा हिड्डुल गर्न सहज हुने बताउनुभयो ।

उपमहानगरले हेटौँडा बसपार्क, टोनी हेगन पार्क, न्युरेनी जाने बाटो, बस्तिपुर चौक, हात्तीगौडा चौक, पदमपोखरी चौक, बँदेलधाप चौक, मयुरधाप, गुम्बा चौक, मानवसेवा आश्रम चौक, हेटौँडा–८ फायरलाईन म्याजिक पार्क, कालिका टोल, हेटौँडा–१५ प्रणामी चौक, चिसापानी चौक, हटिया चौक, फुर्केचौर चौक, चुच्चेखोला चौक, चौघडा चौक र क्याम्पडाँडा चौकमा लाइट जडान भैसकेको उपमहानगरले जनाएको छ । जडान गरिएका हाईमास्ट लाईटमध्ये हुप्रचौरको दुई वटा लाईटको सेन्सरमा समस्या आएकाले सञ्चालन हुन नसकेको जनाइएको छ । त्यस्तै उपमहानगरले हेटौँडा बजारको सडकहरुमा पोलसहित लाईटको व्यवस्था गरी उज्यालो बनाएको छ ।




