हिंसालाई प्रोत्साहन गर्ने काम कसैले नगरौँ 

लोकप्रिय

काठमाडौँ, भदौ २५ गते ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हिंसालाई प्रश्रय दिने शक्तिलाई सरकारले कारबाही नगरेर प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ । 

नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उहाँको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले प्रोत्साहन गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । 

असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानूनी क्रियाकलापमा साथ दिन्न भन्दा डिएसपी राजन राईको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले पक्राउ नगरी रमिते बनेको उहाँले टिप्पणी गर्नुभयो । 

पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो, “एक हप्ताअघि नै खुकुरी हान्छु भन्नेलाई सरकारले नियन्त्रणमा नलिँदा काँग्रेस नेतामाथि खुकुरी प्रहार भएको हो, बेलैमा नियन्त्रण गरेको भए त्यो घटना हुँदैनथ्यो ।”

काट्छु, मार्छु भनेर समाजमा विद्वेष फैलाउनेलाई पनि नियन्त्रणमा नलिएर सरकारले तमासा देखाइरहेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । जघन्य अपराध गरेकाहरूलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाब आक्रमणविरुद्ध कडा कानुन निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । 

तेजाब आक्रमणविरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसाविरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीलाई पनि उहाँले आग्रह गर्नुभयो । नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढङ्गले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उहाँले चर्चा गर्नुभयो । त्यसो हुन नदिनेगरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यम पनि लाग्नुपर्ने उहाँको भनाइ छ ।  

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले सामाजिक जागरणको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्दै त्यसलाई निरन्तरता दिन वर्तमान सरकारसँग आग्रह गर्नुभयो । 

ताजा समाचार

Related Articles