खासकुरा संवाददाता
हेटौँडा, कात्तिक १८ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ मा महालक्ष्मी जात्राको अवसरमा सार्वजनिक बिदा गरिएको छ ।
इन्द्रसरोवर गाउँपालिका १ नं. वडा कार्यालयले महालक्ष्मी जात्राको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको हो ।

वडा कार्य समितिको मंगलबार बसेको बैठकले नेवार समुदायको महान सांस्कृतिक पर्व महालक्ष्मी जात्राको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय भएको वडाध्यक्ष सुवास थापा मगरले जानकारी दिनुभयो । बुधबार इन्द्रसरोवर गाउँपालिका वडा नं. १ को कार्यालय र वडा कार्यालय अन्तर्गत रहेका संघसंस्थाहरु तथा विद्यालयहरु बन्द रहने उहाँले बताउनुभयो ।

साविकको मार्खु गाविसमा विशेष रुपमा परम्परादेखि चल्दै आएको सो जात्रा मंगलबारबाट नै सुरु भएर बुधबार सम्पन्न हुन्छ । सो जात्रा हालको इन्द्रसरोवर गाउँपालिका वडा नं. १ को भिरखर्क, टौमाठ, सिम्लाङ र कलङ्कीमा लाग्दै आएको छ ।




