हेटौँडा, कात्तिक १९ गते । जेसीआई हेटौँडाको आयोजनामा ‘जेसीज सप्ताह–२०२५’ अन्तर्गत बुधबार साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाअध्यक्ष तथा भुटनदेवी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा क्यान महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष शिवकुमार श्रेष्ठ, सन् २०१५ का शाखा अध्यक्ष दीपकराज मिश्र, सन् २०२० का शाखा अध्यक्ष राजदेव बानिया, कार्यक्रम संयोजक विजय गोपालीलगायतको आतिथ्यता रहेको थियो ।
भुटनदेवी माध्यमिक विद्यालयका कक्षा ९ र १० का ७० जना विद्यार्थी सहभागी अभिमुखीकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका संगीता लामा र श्याम श्रेष्ठले सहजीकरण गर्दै विद्यार्थीलाई सामाजिक सञ्जालको प्रयोगसँग जोडिएका जोखिम, साइबर अपराधका प्रकार, सावधानी अपनाउने तरिका, गोपनीयता सुरक्षा तथा अपराधजन्य व्यवहारबाट कसरी जोगिने बारेमा जानकारी प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा साइबर अपराधसम्बन्धी विद्यमान कानुनी उपचार प्रक्रिया र पीडित भएपछि कहाँ, कसरी उजुरी गर्ने भन्ने बारेमा जानकारी गराइएको जेसीआई हेटौँडाका महासचिव संजय कुमार न्यौपानेले जानकारी दिनुभयो ।




