हेटौँडा, कात्तिक १९ गते । मकवानपुरको थाहा नगरपालिका–४ मा थाहा बसपार्क सञ्चालनमा आएको छ । लामो समयको प्रयासपछि बुधबार थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले बसपार्कबाट सेवाको शुभारम्भ गर्नुभएको हो ।
थाहा नगरपालिका नबन्दै २०५८ सालमा तत्कालीन दामन–पालुङ नगर विकास समितिले हालको वडा नं. ३ का व्यवस्थित बसपार्क निर्माणको योजना बनाएको थियो । तर निर्माण समिति नबन्दा केन्द्रीय सरकारले दिएको ४५ लाख रुपियाँ फिर्ता गएको थियो ।

बसपार्क सुभारम्भ कार्यक्रममा नगर प्रमुख विष्टले निर्माण कम्पनीले काम नगरेका कारण अधुरो अवस्थामा रहेको बसपार्क सञ्चालन गर्नुपर्ने बाध्याता आएको बताउनुभयो ।
थाहा बसपार्क, कुन्छाल वज्रवाराही हुँदै निर्माण हुने सडक र सूचना केन्द्रको एउटै प्याकेजमा टेण्डरमा ठेक्का लाग्यो, नगरप्रमुख विष्टले भन्नुभयो, छिटो द्रुत गतिमा काम हुने विश्वास लिएको थियो, पटक पटक निर्माण कम्पनी, कार्यालय र संघीय सरकारलाई दवाव दिँदासमेत काम अगाडि बढेको छैन, तीनै वटा योजना अधुरो रहेको छ ।

उहाँले अगाडि भन्नुभयो, सर्वदलीय रुपमा तत्कालीन सहरी विकास मन्त्रालयमा गयौ, पटक–पटक म्याद थप भएपनि अधुरो रहेको छ । निर्माण कम्पनीले ढिलासुस्ती गरेकोले समस्या भयो ।
उहाँले निर्माण कम्पनीले काम नगर्ने र सरकारपनि ठेक्का नतोड्ने भएपछि तीन वटै योजना अलपत्रमा परेको बताउनुभयो ।
नगरप्रमुख विष्टले बसपार्कको पूर्ण निर्माणमा ठेकेदारको ढिलासुस्ती भएको बताउँदै छिटोभन्दा छिटो बाँकी संरचना पूरा गर्न संघीय सरकारलाई घच्घच्याउन सहरी विकास मन्त्रीलाई भेटगर्ने योजना बनाएको बताउनुभयो ।
अहिले काम चलाउ रुपमा सञ्चालन गरिएको हो, उहाँले भन्नुभयो, “बसपार्क सञ्चालन कार्यविधिअनुसार नै व्यवस्था मिलाइनेछ, स्थानीय युवाहरूको माग र सहकार्यबाट यो निर्णय कार्यान्वयनमा आएको हो।”

नगर उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यातायात व्यवसायीहरूसँग सहकार्य गर्दै आवश्यक पूर्वाधार विकासमा समुदायसँगै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
बसपार्क शुभारम्भ कार्यक्रम थाहा बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खत्रीको सभापतित्वमा भएको हो ।




