निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने प्रधानमन्त्री कार्कीको प्रतिवद्धता

लोकप्रिय

काठमाडौँ, कात्तिक १९ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा उहँहरुवीच कुराकानी भएको हो।

भेटमा प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो। पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राख्नुभयो।

उहाँले सरकारका तर्फबाट चुनावका लागि भइरहेको तयारी र विभिन्न पक्षसँग गरिएको संवादको प्रशंसा पनि गर्नुभयो।
राजनीतिक दलहरु चुनावमा जानै पर्ने उल्लेख गर्दै उहाँले मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा लैजान चुनाव नै सर्वोत्तम बाटो भएको बताउनु भयो ।

२०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको स्मरण गर्नुभयो । दलहरुले पनि चुनावको अपरिहार्यता बुझेको कारण आउँदो फागुन २१ मा हुने चुनावमा सबैले भाग लिने कुरामा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतको उपस्थिति थियो। हिजो मात्रै गृहमन्त्री ‌ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमै पुगेर भेटवार्ता गर्नुभएको थियो। सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ।

ताजा समाचार

Related Articles