हेटौँडा, कात्तिक २७ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ६ का बासिन्दाले लोथर खोलामा पक्की पुल निर्माण गर्न माग गरेको वर्षौ भयो ।
राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित खरकण्डेटार र चितवनको राप्ती नगरपालिका वडा नं. ११ को थाकलटार जोड्ने गरी लोथर खोलामा पुल नबन्दा वर्षायाममा राक्सिराङ गाउँपालिका वडा नं. ६, ७, ९ र ४ सडक सम्पर्कबाट विच्छेद भएसँगै आवतजावत ठप्प प्रायः हुन्छ ।
आफ्नै घर पुग्नसमेत दोस्रो जिल्ला जानुपर्ने स्थानीयलाई मोटरसाइकलसमेत लोथरखोलामा ज्यालामा भरिया लगाएर वारपार गर्नुपर्ने बाध्यता बन्दै आएको छ । वर्षायाममा मोटरसाइकल तारेवापत प्रति मोटरसाइकल पाँच सय रुपियाँ तिर्नु पर्ने अवस्था छ । 

संविधान सभा सदस्य गोविन्दराम चेपाङले वर्षायाममा आवत जावतमा समस्या खेप्दै आएका स्थानीयले श्रमदान गरेर अस्थायी रुपमा काठेपुल बनाएको जानकारी दिनुभयो ।
राक्सिराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष अकलबहादुर मोक्तानसहित माङगेनी र खरकण्डेटारका युवा क्षेत्रलाल चेपाङ, रावन चेपाङ, ईन्द्रलाल चेपाङलगायतको पहलमा अस्थायी पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।
सिंगो रुखनै बोकेर ल्याएर लोथर खोलामा हिउँदे महिनाभरीका लागि स्थानीयले श्रमदान गरी अस्थायी काठे कच्ची पुल निर्माण गरेका छन् ।
म दसैँताका घर जाँदा यो खोला पार गर्दै गर्दाको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि नाङ्गै किन हिडेको भन्दै धेरैले प्रतिक्रिया लेख्नुभयो गोविन्दरामले भन्नुभयो, तर बाध्यता थियोे धेरै पटक पटकपटक राज्यलाई यो खोलाको पुलको बारेमा कुरा उठाइयो, विस्तृत डिजाइन सर्भे पनि भयो तर अझै काम सुरु भएको छैन । सडक विभाग पुल महाशाखामा २३ करोड रुपियाँ बराबरको लागत स्टिमेट तयार भएको छ, तर टेण्डर खुलेको छैन उहाँले भन्नुभयो । 

साविकको काँकडा गाविससँगै राक्सिराङ गाविस र खैराङ गाविसको केही भाग हालको राक्सिराङका गाउँपालिकाको वडा नं. ६, ७, ९ र ४ का बासिन्दाले वर्षौदेखि लोथरखोलामा पुल निर्माण गर्नमाग गर्दै आएपनि सुनुवाई भएको छैन । चितवनको भण्डाराबाट करिब १२ किमिको दुरीमा रहेको लोथरखोलामा मकवानपुर र चितवनलाई जोड्ने गरी पुल निर्माण गर्न सडक विभागको पुल महाशाखाले अध्ययन गरेको वर्षौ भईसकेको छ ।
नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्यसमेत रहनुभएका राक्सिराङ गाउँपालिका ८ महाङ्कालका जयबहादुर तितुङ लामो समयदेखि पक्की पुल निर्माण गर्न माग भएपनि यसक्षेत्रबाट जाने जनप्रतिनिधि र सरकारले सुनुवाई नगर्दा स्थानीय बासिन्दाले समस्या झेल्दै आएको बताउनुहुन्छ ।
हिउँदमा जसोतसो आवतजावत गर्छौ, वर्षा लागेपछि जावतआवत गर्नै सकिँदैन, बजारसँगको सडक सञ्जालको सम्पर्क विच्छेद हुन्छ, बाध्यताले आवतजावत गर्नु पर्दापनि ज्यान जोखिममा राखेर हिड्नुपर्ने अवस्था छ तिुतुङले भन्नुभयो, व्यवस्था र सत्ता पटक पटक परिवर्तन भयो चेपाङ र तामाङ बाहुल्य रहेको राक्सिराङको पश्चिमी क्षेत्रका अवस्था उस्तै छ, पुल बन्न सकेको छैन ।

मौरीपालन पकेट क्षेत्रको रुपमा रहेको राक्सिराङको वडा नं. ६ र ७ मा उत्पादन हुने कृषिजन्य उत्पादन बजारसम्म पु¥याउन, पालिकाको केन्द्र र जिल्ला सदरमुकाम हेटौँडा पुग्नसमेत पुल अभाव स्थानीयले समस्या खेप्दै आएका छन् ।
राक्सिराङ वडा नं. ७ का बासिन्दासमेत रहनु भएका बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा लोथरखोलामा पुल आवश्यक भएको र पुल निर्माण गर्न प्रयास गर्दा छलकपटका कारण सफल हुन नसकेको बताउनुहुन्छ ।
उहाँले आफ्नो प्रयासमा लोथरखोलामा पुल निर्माण गर्न प्रदेश सरकारबाट २५ लाख रुपियाँ विनियोजन गरेपनि काम नभएको बताउनुभयो ।
यस्तै संविधान सभा सदस्य गोविन्दरामले राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लसहित यसक्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले प्रयास गरेपनि पुल निर्माण गर्न योजना अधुरै बनेको र नक्सामा सीमित बनेको बताउनुभयो । उहाँले संघीय सरकारले लोथरखोलामा पुल निर्माणको योजनामा राखेपनि बजेट विनियोजन नगरेका कारण पुल बन्न नसकेको भन्दै बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ, राजनीतिक दलहरुसहित पुनः पुलका लागि बजेट विनियोजनका लागि संघीय सरकारसमक्ष जाने बताउनु जानकारी दिनुभयो ।




