हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन आग्रह

लोकप्रिय

काठमाडौँ, कात्तिक ३० गते । राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी  ‘जेनजी’ प्रदर्शनका क्रममा हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नभएको अवस्थामा सुरक्षामाथि चुनौती थपिएको भन्दै समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।

“जेनजी प्रदर्शनका क्रममा हिरासतबाट भागेका थुनुवा र लुटिएका हतियार फिर्ता नहुँदा शान्ति सुरक्षामा चुनौती थपिएको पाइएको छ”, विज्ञप्तिमा भनिएको छ, “प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचना निर्माण गर्न र हिरासतमा रहेका थुनुवाका लागि अत्यावश्यक सामग्रीका लागि बजेट अभाव रहेको जानकारी प्राप्त भएको छ । हिरासतमा विद्यमान यी समग्र समस्याको समाधानमा गम्भीर हुन आयोग सरकारलाई आग्रह गर्दछ ।”

आयोगको टोलीले प्रदर्शनपश्चात् उपत्यकाभित्रका हिरासत कक्षको अवस्था सम्बन्धमा यही कात्तिक २७ र २८ गते अनुगमन गरेको जनाएको छ ।

ताजा समाचार

Related Articles