मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

लोकप्रिय

जनकपुरधाम, मङ्सिर ३ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको विरुद्धमा सात दलका ६४ जना प्रदेश सभाका सदस्यहरुले दर्ता गराउनु भएको महाअभियोग प्रस्ताव प्रदेश सभाको बैठकले आज पारित गरेको छ । मधेश प्रदेश सभामा उपस्थित रहनु भएका ७८ प्रदेश सभा सदस्यहरु मध्ये ७६ ले महाअभियोगको प्रस्तावको पक्षमा मत दिनु भएकाले उक्त प्रस्ताव दुई तिहाइले पारित भएको हो । दुई तिहाइका लागि ७२ जना प्रदेश सभा सदस्य चाहिएकोमा त्यस भन्दा बढी भएकाले उक्त प्रस्ताव पारित भएको छ । प्रस्तावको विपक्षमा कुनै पनि मत नपरेको बैठकको अध्यक्षता गरिरहनु भएका उपसभामुख बबिता राउत ईशरले प्रदेश सभाको बैठकमा घोषणा गर्नु भयो ।

मत विभाजनको आधारमा महाअभियोग माथि प्रस्ताव माथि छलफल तथा प्रदेश सभाको बैठकले निर्णय लिएको कारणले आजैको मितिबाट प्रदेश सभा नियमावली तथा नेपालको संविधान अनुसार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल सभामुख पदबाट पदमुक्त हुनु भएको घोषणा उपसभामुख वविता राउत ईशरले गर्नु भयो । सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गर्ने प्रस्ताव नेपाली काँग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले गराउनु भएको थियो ।

मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पद अनुसारको आचरण नगरेको भन्दै कार्तिक २७ गते उपसभामुख बबिता राउत ईशरको तोक आदेशमा प्रदेश सभाका सचिव होमनाथ पहाडीले उक्त प्रस्ताव प्रदेश सभामा दर्ता गर्नु भएको थियो । मधेश प्रदेशमा रहेका विभिन्न दलका ३२ जना प्रदेश सभाका सदस्यहरुले प्रदेश सभाको बैठक बोलाउनका लागि हिजो उपसभामुखलाई आग्रह सहितको पत्र बुझाएपछि आज दिउँसोका लागि उपसभामुखले बैठक बोलाउनु भएको थियो ।दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक मधेश प्रदेश सभा सचिवालयका सचिव बासुप्रसाद कोइराला ढिलो गरि आउनु भएकाले ३ः२० बजेबाट शुरु भएको थियो । महाअभियोग प्रस्ताव माथिको छलफलमा भाग लिने प्रदेश सभाका सदस्यहरुले सभामुखले पद अनुकूलको आचरण शुरु देखि नै नगरेका धेरै उदाहरणहरू दिनुभएको थियो । यसरी धारणा राख्नेहरूमा नेपाली काँग्रेसका प्रदेश सभाका सदस्यहरु जीवछी यादव, जसपाका प्रदेश सभाका सदस्य मनिष कुमार सुमन तथा संजय कुमार यादव, उपेन्द्र महतो, जवाहरलाल कुशवाहा सहितका प्रदेश सभाका सदस्यहरु रहनु भएको थियो ।

यसैगरि बैठकमा प्रदेश सभाका पाँच जना सदस्यहरूलाई पदमुक्त गर्ने निर्णयका विरुद्धमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पत्र बैठकको अध्यक्षता गरिरहनु भएका उपसभामुख बविता राउत ईशरले पढेर सुनाउनु भएको थियो ।

ताजा समाचार

Related Articles