खासकुरा संवाददाता
हेटौँडा, मंसिर ७ गते । मकवानपुरको थाहा नगरमा भएको मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर १ ले हात पारेको छ । आइतबार भएको थाहा नगरस्तरीय अन्तर नगर वडा मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर ३ को टिमलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।


वडा नं. १ को जितमा विनिस अमात्य र विबेक थोकरले समान १– १ गोल र वडा न ३ का रोशन तामाङले १ गोल गर्नुभएको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा नं. १ का प्रचण्ड गोपाली, उत्कृष्ट खेलाडी वडा नं. ३ का अभियान रायमाझी, बेष्ट डिफेन्डर वडा नं. १ का नवीन श्रेष्ठ घोषित हुँदा प्रतियोगिता भर सर्वाधिक गोलकर्ता वडा नं. ३ का रोशन तामाङ पुरस्कृत हुनुभयो ।
प्रतियोगिताका विजेताले नगद ५० हजार तथा शिल्ड र उपविजेताले नगद २५ हजार रुपियाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम स्याङ्तानको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रतियोगिताका बिजेता तथा उपबिजेता टिम र खेलाडीलाई थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गर्नुभएको थियो । 

पुरस्कार वितरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा वज्राचार्य, वडा नं. ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, वडा नं. ४ का वडाध्यक्ष नारायण लामा वडा नं. १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान, नेपाली कांग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेकपा माओवादी केन्द्रका नगर सचिव लक्ष्मण विष्ट, थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्ललगायतका उपस्थिति रहेको थियो । 




