हेटौँडा, मंसिर ९ गते । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले आगामी चैत्रमा सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसइई) का लागि सबै विद्यालयका विद्यार्थीहरुलाई खाना र आवासको व्यवस्था गाउँपालिकाले गर्ने बताउनुभएको छ ।
मंगलबार कालिका माविमा आयोजित कक्षा ११ का विद्यार्थीहरुको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले अन्य तहमा परीक्षा केन्द्रमा रहेर परीक्षा दिने विद्यार्थीहरुका लागि खाना र आवासको व्यवस्था गरिने बताउनुभएको हो ।

गत वर्षबाट गाउँपालिकामा कालिका मावि परीक्षा केन्द्र तोकिएसँगै विद्यार्थीहरुलाई सहजता भएको भन्दै उहाँले उक्त विद्यालयका विद्यार्थीले हेटौँडामा परीक्षा दिनुपर्ने भएकाले उनीहरुको लागि गाउँपालिकाले खाना र आवासको व्यवस्था गर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुले लगनशीलताका साथ अध्ययन गर्न आग्रह गर्दै अनुशासितका साथ पढाई गरी राम्रो नतिजा निकाल्न आग्रह गर्नुभयो ।
कैलाशको शिक्षा सुधारोन्मुख रहेकाले एसईइ मात्र नभई कक्षा १२ को नतिजामा पनि विद्यार्थीहरुले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रममा वडाध्यक्ष भूवन सिं घलानले गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि लगानी गर्दै आएको बताउनुभयो ।
कक्षा १२ का विद्यार्थी आशिका पुडासैनीको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा विद्यालय समितिका अध्यक्ष मदन प्रसाद बर्तौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रअ रामप्रसाद कालाखेती, पूर्व प्रअ राजाराम पराजुली, सहायक प्रअ रामचन्द्र पौड्याल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा कक्षा १२ का अध्ययनरत सुस्मिता थिङ र कक्षा ११ मा अध्ययनरत अस्मिता ब्लोनले आफ्नो भनाई राख्नुभएको थियो ।
कालिका माविमा शिक्षा शास्त्र र व्यवस्थापन शास्त्र अध्यापन हुँदै आएको छ ।




