बजारबाट औषधी फिर्ता गर्न निर्देशन

लोकप्रिय

काठमाडौँ, मङ्सिर १३ गते । औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीद्वारा उत्पादन गरिएका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएका औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन (ब्याच नं. सिटी २७२३) बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।

उहाँले विभागले गरेको निरीक्षणमा उक्त ब्याच नम्बरको औषधी परीक्षणका क्रममा न्यून गुणस्तरको पाइएको भन्दै औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता गर्न उद्योगलाई निर्देशन दिएको जानकारी दिनुभयो । यस्तै विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल औषधी न्यून गुणस्तरको पाइएपछि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।

क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याब्लेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधी न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो । बजार अनुगमनका क्रममा सङ्कलन गरिएका औषधी राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा उक्त ब्याचको औषधी न्यून गुणस्तर भएको पाइएको हो । उक्त ब्याज नम्बरको औषधी सिफारिस, बिक्रीवितरण तथा प्रयोग नगर्न पनि विभागले आग्रह गरेको छ ।

ताजा समाचार

Related Articles