प्रहरी सेवामा रहेका तीनवटा कुकुरहरू सेवा निवृत्त 

लोकप्रिय

हेटौँडा, भदौ २७ गते ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत तीनवटा कुकुर सेवा निवृत्त भएका छन् । कार्यालयको के नाईन शाखामा बिगत ९ वर्षदेखी कार्यरत रहेका तीन कुकुर बुधवारबाट सेवा निवृत्त भएका हुन् ।  

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता दीपक रेग्मीका अनुसार बिगत ९ वर्षदेखि कार्यरत शेरे, टाइगर र जोन नामका कुकुरहरू बुधवारबाट सेवा निवृत्त भएका हुन् । ती कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुरहरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्य निर्देशन–२०८० बमोजिम सेवा निवृत्त भएको उहाँले बताउनुभयो । 

जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १ हजार २ सय पटक लागूऔषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाइगर नामको कुकुरले सुरक्षाको लागि ७ सय पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद् भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको उहाँले बताउनुभयो । 

यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शङ्कास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भूमिका रहेको उहाँले जानकारी दिनुभयो । सेवा निवृत्त तीन वटा कुकुरलाई सङ्गठनबाट प्राप्त हुने रासन कट्टी हुने प्रवक्ता रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो ‘तालिम तालिम प्राप्त गरी प्रहरी सेवामा रहेका कुकुरहरूलाई करिब १० वर्ष पुगेपछि उसले गर्ने कामको टेक्निकल टिमले पहिचान गर्छन्, उसले प्राक्टिकलमा कति नम्बर ल्याउँछ भनेर रिर्पोट र नम्बरीङ गर्छ । अलि टाढा पुग्न नसकेमा, सुँघ्न नसकेमा फेल हुने र डिस्कार्ट गर्छ ।’ 

सेवा निवृत्त कुकुरहरूले पुलिसको काम गर्न नसके पनि दुई–चार वर्ष घरमा गार्डको काम गर्न सक्ने उहाँको भनाई छ । ती कुकुरहरूलाई कसैले माग गर्न र निवेदन दिन आएमा भरपाई गरेर लैजान सकिने उहाँले बताउनुभयो । यदि कसैले नलगेमा भने उसले पाउनुपर्ने अन्य रासन खुवाएर राखिनेछ । उसले त्यो फ्याकल्टी भने नपाउने उहाँले बताउनुभयो । बागमती प्रदेश प्रहरी मातहत अहिले ६ वटा कुकुरहरू रहेको उहाँले बताउनुभयो । 

ताजा समाचार

Related Articles