काठमाडौँ, मङ्सिर १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा कार्यरत रहेका विभिन्न पदाधिकारीहरूबाट वर्षौंसम्म फर्छ्यौट नहुँदै आएको पेस्की रकम हिनामिना भएको ठहर गर्दै सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार आ.व. २०७५/७६ देखि २०७८/७९ सम्म स्वास्थ्य कार्यक्रमका लागि लिइएका विभिन्न शीर्षकका पेस्की रकममध्ये कुल ४६ लाख ७ हजार ३ सय रुपियाँ बेरुजु भएको पुष्टि भएपछि सोही रकम हिनामिनामा प्रत्यक्ष संलग्न भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, लेखापाल, लेखा सहायकलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा अधिकृत छैटौँ महेन्द्रप्रसाद यादवसहित सम्बन्धित पदाधिकारीहरूले पेस्की लिएर अवधि बितिसक्दा पनि मागअनुरूप बिल–भरपाई र कागजात पेस गर्न नसकेको र आवश्यक कार्यसमेत नगरी पेस्की माथि पेस्की लिँदै सार्वजनिक रकम दुरुपयोग गरेको आयोगले जनाएको छ।




