खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनका लागि मकवानपुरमा प्रतिनिधि छनोट सम्पन्न भएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा निर्वाचनमार्फत र क्षेत्र नं. २ मा प्रतिनिधि चयन सर्वसम्मतिमा भएको हो । तर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा एमालेमा उत्साह देखिएन ।
उक्त क्षेत्रका प्रतिनिधिहरुमध्ये न्यून सङ्ख्यामा निर्वाचनमा मतदानका लागि सहभागी बनेका थिए । चार हजार १०७ जना मतदाता रहेकोमा एक हजार ५४७ जना मात्र मतदानमा सहभागी भएका थिए ।
एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले कम मतदान भएकोमा समीक्षा गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले विभिन्न भ्रामक प्रचारका बाबजुद आफूलाई मतदान गर्ने प्रतिनिधिहरुलाई धन्यवाद दिनुभएको छ ।
हेटौँडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलदेखि पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राईसम्म पराजित हुनुभएको छ ।
महाधिवेशन प्रतिनिधिका लागि अध्यक्ष पोखरेलसहित २२ जना प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तीमध्ये आठ जना निर्वाचित हुनुभएको हो । निर्वाचनबाट नवीन सिग्देल, फुर्वा दोर्जे लामा, सुनील मोक्तान, अणराज जर्गामगर, आरती पाठक, सीता विष्ट, विनाकुमारी थिङ र बोलबहादुर कार्की निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । साथै देवकृष्ण विक निर्वाचित हुनुभएको छ ।
यस्तै मकवानपुर क्षेत्र नं २ बाट बलराम बल, एकालाल श्रेष्ठ, हिदम लामा, विदुर हुमागाईँ, सुमित्रा काफ्ले, भगवती पुडासैनी, गीता प्रजा र रोहन लामा निर्विरोध चयन हुनुभएको छ ।




