काठमाडौँ, मङ्सिर १६ गते । आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । विभिन्न पक्षबाट निर्वाचनको विषयमा संशय भइरहँदा आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सम्पन्न गरेलगत्तै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट सन्देश दिएको हो । काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो । आयोगका सचिव निर्वाचन अधिकृत रहने व्यवस्था छ । आयोग पदाधिकारीको मङ्सिर १२ गतेको निर्णयले आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत नियुक्त ग¥यो ।

सचिव पन्थले कार्यालय स्थापनालगत्तै निर्वाचन अधिकृतको जिम्मेवारी बहन गर्नुभएको छ । आयोगका सहसचिव एवं कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराई समानुपातिकतर्फको सहायक निर्वाचन अधिकृत तोकिनुभएको छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यसअघि नै सार्वजनिक गरिसकेको छ । स्वीकृत कार्यक्रम अनुसार मङ्सिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने दलले निवेदन पेस गर्नुपर्ने छ । निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि १२० वटा निवेदन परेका छन् । आयोगले निवेदन स्वीकृत गर्ने दलले मात्रै समानुपातिकतर्फको निर्वाचन प्रणालीका लागि दल दर्ता गर्न पाउने छन् । आयोगले मङ्सिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलको नामावली प्रकाशन गर्ने छ ।

त्यसै गरी पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । पेस भएका उम्मेदवारको बन्दसूची कानुनले तोकेको व्यवस्थाबमोजिम भए/नभएको निक्र्योल गरी आयोगले माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने छ । आयोगको स्वीकृत निर्वाचन कार्यव्रmम अनुसार फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ ।

सो अवसरमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक निर्वाचन प्रणालीतर्फका सबै कार्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने जानकारी दिनुभयो । उहाँले एकै स्थानबाट सबै कार्य हुने हुँदा सरोकारवालालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूत्रात्मक पद्धतिबाट राष्ट्रिय तथ्याङ्क कार्यालयसमेतको सहयोगमा कानुनबमोजिमका जातीय, भौगोलिक, लैङ्गिक समूहहरू छुट्याएर प्रतिनिधि चयन गरिने भएकाले सबै पक्षको भरोसा रहने उल्लेख गर्नुभयो । सो अवसरमा आयुक्त डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराको उपस्थिति थियो ।




