खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर १८ गते । उत्तरी मकवानपुरको थाहा नगरपालिकाको इन्द्रायणी चौरमा तीनवर्षे मेला बिहीबारबाट सुरु भएको छ । स्थानीय देउला र नेवार समुदायबाट विधिपूर्वक पूजाआजासहित इन्द्रायणी माईको मेला शुरु भएको हो ।
मेलाको पहिलो दिन इन्द्रायणी चौरमा रहेको रथ ल्याइएको छ । दोस्रो दिन सर्वसाधारणको मुख्य पूजा, तेस्रो दिन रथ उठाउने तान्त्रिक विधिसहितको पुजा गरिन्छ ।

मेला मंसिर पूर्णिमाको दिनदेखि लाग्ने प्रचलन छ ।
इन्द्रायणी माईको चौरमा लाग्ने जात्रामा पालुङको नेवार तथा देउला समुदायले विधिपूर्वक पुजाआजा गरी गणेश, इन्द्रायणी, कुमारी र कालभैरबको रथारोहणका साथै गोपालीगाउँको सेती गणेशको रथारोहण गर्ने गरिन्छ ।




