मकवानपुर, मङ्सिर २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले मकवानपुर र काभ्रेपलाञ्चोक जिल्ला जोड्ने सिग्रेदोभान पक्की पुल आगामी वैशाखभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । मकवानपुरको बागमती गाउँपालिका र काभ्रे जिल्लाको खानीखोला क्षेत्रमा निर्माणाधीन विकास आयोजनाको स्थलगत निरीक्षणका वर्षौदेखि अलपत्र अवस्थामा रहेको सिग्रेदोभान पुल वैशाखसम्म निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो ।

बागमती–खानिखोला जोड्ने सिग्रेदोभान पक्की पुलको प्रगति बुझ्दै निर्माण क्षेत्रबाटै टेलिफोनमार्फत आगामी वैशाखभित्र जनमुक्ति मार्गअन्तर्गतको उक्त पुल निर्माण सम्पन्न गर्न प्रदेश सरकारले निर्माण कम्पनीका प्रतिनिधिलाई आवश्यक सबै प्रकारका सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले सो अवसरमा आयोजनाहरूको स्थलगत अवलोकन गर्न पुगेका प्रदेश सरकार मातहतका पूर्वाधार कार्यालयका प्रमुखलाई पुल आगामी वैशाखसम्ममा सम्पन्न गर्ने गरी अगाडि बढाउन प्राविधिकलगायत योजनास्थलमा आवश्यक सहयोग र सहजिकरणका लागि निर्देशन दिनुभएको थियो ।

सो अवसरमा मुख्यमन्त्री बानियाँले झुरझुरे–ज्यामिरे जोड्ने पक्की पुलको प्रगतिका बारेमा जानकारी लिँदै सार्वजनिक निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति चासो र तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो । विकास आयोजनाहरूको निरीक्षणका क्रममा बागमती प्रदेशका सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङलगायतको उपस्थिति थियो ।मुख्यमन्त्री बानियाँले मकवानपुर जिल्लाको बागमती गाउपालिका, काभ्रेको खानीखोला र महाभारत क्षेत्रमा सञ्चालनमा रहेको योजनाले स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै निर्माणको कामलाई तीव्रता दिन आग्रह गर्नुभयो ।




