— किशन पौडेल
हेटौँडा कुनै सहर मात्र होइन, यो समयको कालखण्डमा जम्मा भएर बनेको स्मृतिको भूगोल पनि हो । यहाँ पाइला टेक्दा माटोले इतिहास बोल्छ र हावाले कथा सुनाउँछ । पौराणिक स्मृति, ऐतिहासिक घटना र व्यक्तिगत भोगाइ मिसिएर बनेको यो सहरलाई बुझ्न केवल भौगोलिक संरचनालाई मात्र हेरेर पर्याप्त हुँदैनन् । त्यसका लागि स्मृतिसँग संवाद गर्नुपर्छ, अतीत तर्फ फर्केर हेर्नुपर्ने हुन्छ ।
महाभारतको पौराणिक कथाअनुसार हेटौँडासँग जोडिएको एउटा गहिरो किंवदन्ती छ। वनवासका क्रममा पाँच पाण्डवहरू आमा कुन्तीसहित यस भूभागमा आइपुगेको जनविश्वास पाइन्छ। यही वनमै भीमसेनको भेट राक्षसी हिडिम्बासँग भयो र विवाह पश्चात् हिडिम्बाको कोखबाट वीर घटोत्कचको जन्म भयो। हिडिम्बाको वासस्थान यही क्षेत्रमा भएको विश्वासका आधारमा उनीहरूकै नामबाट यस स्थानको नाम हेटौँडा रहन गएको भनाइ आज पनि जीवित छ। हिडिम्बा र माता भुटनदेवीसँग गाँसिएको यो माटो आस्थाको मात्र होइन, सभ्यताका आरम्भिक सङ्केतहरूको पनि साक्षी हो।

पौराणिक वन समयसँगै बिस्तारै बस्तीमा रूपान्तरित हुँदै गयो। तर यो रूपान्तरण सहज थिएन। लामो समयसम्म हेटौँडाको समथर भूभाग औँलोको भयले सुनसान भएर रह्यो। मानिसहरू मुख्य बजार क्षेत्रमा बस्न डराउँथे। बरु मकवानपुर गढी, मक्रान्चुली, हटिया र छतिवनजस्ता उर्वर डाँडापाखा रोजी, खरको छाप्रो हालेर छरिएर बस्न रुचाउँथे । डर, रोग र अभावसँगको सङ्घर्ष नै हेटौँडाको प्रारम्भिक इतिहास हो।
राणाकालीन समय देखिनै हेटौँडाको ऐतिहासिक महत्त्व स्पष्ट देखिन्छ। हेटौँडाको सडक सञ्जाल भारतको रक्सौलसँग जोडिएको थियो। तत्कालीन राणा सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर लामो रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएका थिए। सन् १९२७ फेब्रुअरी १६ मा नेपाल गभर्मेन्ट रेलवे सञ्चालनमा आएको थियो। यो रेल सेवा वि.सं. २०२२ सम्म चलेर बन्द भयो।
राजमार्ग नहुँदाको यात्रा आज कल्पनाभन्दा बाहिर लाग्छ। काठमाडौँबाट चित्लाङ–कुलेखानी–भीमफेदी हुँदै मानिसहरू पैदल यात्रा गर्थे। चुरेको फेदी पुगेपछि लरी वा ट्रक चढेर अमलेखगन्ज आइपुग्थे र त्यहाँबाट रेल चढेर भारत जान्थे। सन् १९१७ मा चन्द्रशमशेरको पालामा हेटौँडाको चुरे क्षेत्रमा दक्षिण एसियाकै पहिलो सुरुङ निर्माण हुनु त्यो समयको अद्भुत उपलब्धि थियो।
वि.सं. १९८२ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले मकवानपुरको धोर्सिङदेखि मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे-रञ्जुमार्ग निर्माण गराएका थिए। २०१६ सालमा अमेरिकी सरकारको सहयोगमा यो रोपवे हेटौँडादेखि टेकु भन्सारसम्म ४२ किलोमिटरमा विस्तार भयो। राजधानीको जीवन र हेटौँडाको श्रम यसै डोरीमा आवत-जावत गर्थ्यो। तर २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालादेखि यो ऐतिहासिक रोपवे बन्द गरियो। विकासको एउटा अध्याय यहीँ टुङ्गियो।
वि.सं. २०२०/२५ सालतिरको हेटौडाको कल्पना गर्दा आजको सहरसँग तुलना गर्न गाह्रो पर्छ। बजार क्षेत्रमा स-साना घर र झुपडीहरू मात्र थिए। पिपल बोट क्षेत्र र केही सीमित स्थानमा मात्र बस्ती फैलिएको थियो। वि.सं. २०२० सालमा औद्योगिक क्षेत्र स्थापना भएपछि हेटौँडाले नयाँ मोड लियो। २०४२ सालमा राजा वीरेन्द्र स्वयं उपस्थित भई हेटौंडा सिमेन्ट उद्योगको उद्घाटन गर्नु सहरको औद्योगिक पहिचानको आधार बन्यो।
वि.सं. २०२६ सालमा हेटौडालाई नगर पञ्चायत घोषणा गरियो। वासुदेव रिजाल पहिलो प्रधानपञ्च बने। २०३९ सालमा भीमफेदीमा रहेको ऐतिहासिक सदरमुकाम हेटौँडामा सारियो। वि.सं. २०३६ सालमा महेन्द्र राजमार्ग निर्माण भएपछि नारायणगढसँग जोडिँदा हेटौँडाको गति अझ तीव्र भयो। सन् १९५६ मा त्रिभुवन राजपथ उद्घाटन भएपछि नेपाल ट्रान्सपोर्ट सर्भिसले सन् १९५९ देखि काठमाडौँ सुन्धाराबाट हेटौंडा–अमलेखगन्जसम्म बस सेवा सञ्चालन गर्यो। हेटौँडा साँच्चिकै सहर बन्न थालेको थियो।
यिनै परिवर्तनका भेलमा बगेर मेरो पारिवारिक इतिहास पनि मिसिन आयो। वि.सं. २०११ र २०१८ सालमा पहाडी क्षेत्रमा आएको बाढी–पहिरोपछि उब्जाउ जमिनको खोजी गर्दै मेरा हजुरआमा/बुवा ललितपुरबाट बसाइँ सरेर वि.सं. २०२० सालतिर मकवानपुर हेटौंडा–६ मा दुई बिघा जग्गा दुई हजार रुपैयाँमा किनेर बस्न थाल्नु भयो । हजुरआमा र बुवाले सुनाउनु भएको उहिले–उहिलेका हेटौँडाका दुःख, सङ्घर्ष र आशाका कथाहरू मेरा स्मृतिमा गहिरोसँग जरा गाडेर बसेको छ ।
आजको हेटौँडा हेर्दा लाग्छ, यो सहर केवल संरचना र व्यापारले बनेको होइन। यसमा इतिहास छ, पौराणिक विश्वास छ, श्रमको पसिना छ, बसाइँ सराइको पीडा छ र स्मृतिको न्यानोपन छ। अब हेटौँडाको भौतिक स्वरूप बिस्तारै परिवर्तन हुँदै छ, सुन्दर र सफा सहर हेर्ने हामी सबैको अपेक्षा छिट्टै पूर्ण होस् ।
तस्विरः my old collection
तस्विरः my old collection
1 Mike Furst 2.Bob Nichols 3.Dave Hohl (किशन पौडेलको फोसबुकबाट)




