खासकुरा संवाददाता
हेटौँडा, मङ्सिर २४ गते । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी गरिएको छ ।
कैलाश गाउँपालिकाको आयोजनामा बुधबार कैलाश ३ स्थित भवानी माध्यामिक विद्यालयमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा पालिकामा रहेका आठ वटा विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विद्यार्थीहरुको सिकाई प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाई र ज्ञान बढ्ने बताउनुभयो । विद्यार्थीले तयार पारेका सामाग्रीहरुमा पुराना परम्परागत सामान, हस्तकलाका सामान, मेशिन औजार, विज्ञानका विभिन्न जानकारी मूलक सामाग्रीले एक आपसमा सिकाइ र अनुभव साटासाट हुने भन्दै उहाँले नीति तथा कार्यक्रममा समेट्दै कार्यक्रम राखिएकाले आगामी दिनहरुमा निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय कैलाश २ प्रथम, कालिका मावि कैलाश ९ द्धितीय र कमलादेवी मावि कैलाश २ तृतीय भएको छ । आधारभूत तह र माध्यामिक तह सञ्चालित विद्यालयहरुका विद्यार्थीको अन्र्तनिहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाइ आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीले बताउनुभयो ।

वडा नम्बर ३ का कार्यबाहाक वडाध्यक्ष राममाया प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मुल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, ईन्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो ।




