सबै धर्मको रक्षा सरकारको दायित्वः अध्यक्ष मुक्तान

लोकप्रिय

हेटौँडा, मङ्सिर २९ गते । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सरकारको कुनै धर्म हुँदैन र सबै धर्म रक्षा गर्नु हाम्रो दायित्व रहेको बताउनुभएको छ । इसाई एकता समाज कैलाश गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय येशु ख्रीष्टको जन्मोत्सव (ख्रीष्टमस)को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले जात धर्म र कला संस्कृतिको जर्गेना सरकारले गर्ने बताउनुभयो ।

हामी सबै धर्मालम्बीहरुमा सामूहिक एकता आवश्यकता पर्दछ । आफ्नो संस्कार उठाउन सकेनौ भने हामी कहिल्यै पनि एकताको सुत्रभित्र बाध्न सक्दैनौ, उहाँले भन्नुभयो । सबै धर्म बराबर हुन्, स्थानीय सरकारले सबै मेला, जात्रा र पर्व मनाउनलाई आवश्यक बजेट विनियोजन गरेका छौं ।
अन्य पर्वमा धेरै दिन बिदा रहने हुँदा क्रिसमसमा एक दिन मात्रै बिदा हुने भएकाले इसाई धर्मालम्बीहरुको संस्कार र परिधिभित्र बसेर यसवर्ष गाउँपालिकाले क्रिसमस डे पर्वका लागि तीन दिन बिदा दिने अध्यक्ष मुक्तानले बताउनुभयो ।

त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले पर्वले मानिसमा एकताको भाव जगाउने बताउनुभयो । धर्म, परम्परा र रितिरिवाज आफ्नो आफ्नो छ, सबैको रक्षा सरकारले गर्ने भन्दै उहाँले धार्मिक सहिष्णुता अब्बल भए समाजमा परिवर्तन हुने बताउनुभयो ।
इसाई एकता समाजका अध्यक्ष आशिष थिङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु राजेन्द्र घिसिङ, देवलाल बल, तिलक बहादुर मुक्तान, उदास कुमार भोलन, आशिष प्रजा र एनसिएफ नेपालका अध्यक्ष रेभरेन हनोक तामाङ, कार्यपालिका सदस्यहरु राममाया प्रजा, सुन्तली सुनुवार, सम्झना मुक्तान, दिलमाया थिङलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न मण्डलीका कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । कैलाशमा ४२ वटा विभिन्न मण्डलीमा करिब पाँच हजार इसाई धर्मालम्बी रहेका छन् ।

ताजा समाचार

Related Articles