हेटौँडा, मङ्सिर २९ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकामा विभिन्न वडाहरुमा मकवानपुरमा सुरक्षित स्थानागमन प्रवद्र्धन परियोजनाअन्तर्गत नारी सीप सिर्जना केन्द्र नेपालको सार्वजनिक सुनुवाई र सरोकारवालाहरुसँग समन्वय बैठक सम्पन्न भएको छ ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले परियोजनाले गाउँपालिकाको चौतर्फि विकासमा इटाँ थप्ने काम गरेको बताउनुभयो ।
उहाँले सुरक्षित वैदेशिक रोजगार तथा मानव वेचविखन नियन्त्रणका लागि गाउँपालिका गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
सेफ हाउस निर्माण तथा सञ्चालन गर्ने, वैदेशिक रोजगारमा समस्यामा परेकाहरुको उद्धार गर्ने, समाजमा आत्मनिर्भर बनाउन आवश्यक तालिम, सामाग्रीहरु प्रदान गर्ने कामहरु भइरहेको उहाँको भनाई छ ।

गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ र वडाअध्यक्ष उत्तम वाइबासमेतले परियोजनाले गाउँपालिकामा गरेको सहयोगको प्रसंशा गर्नुभयो ।
नारी सीप सिर्जना केन्द्र नेपालका अध्यक्ष नानीमाया चापागाईले हाल सञ्चालित परियोजनाको समयावधि सकिन लागेको बताउँदै राक्सिराङको माग र आवश्यकताअनुसार थप कार्यक्रम सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले यहाँका जनप्रतिनिधि, स्थानीय तथा सरोकारवालको सहकार्यमा परियोजना सफलतापुर्वक सञ्चालन भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम संयोजक ज्योति बम्जनले परियोजनाअन्तर्गत सम्पन्न भएका विभिन्न कार्यक्रम, तालिम तथा सिँचाई आयोजनाहरुको बारेमा जानकारी दिनुभयो ।
उहाँले परियोजनाको लागत, प्रभावकारितासँगै लाभान्वित समुदायको जीवनस्तरमा आएको सुधारका बारेमा चर्चा गर्नुभयो ।
नारी सीपका कार्यकारी निर्देश प्रवीण बास्तोलाले परियोजनामार्फत सञ्चालित कार्यक्रमहरु समुदायको माग र आवश्यकताका आधारमा रहेको बताउँदै कार्यक्रमको सहजीकरण गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुले परियोजनाअन्तर्गत सञ्चालित मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा गाउँपालिकाको भूमिका र कार्ययोजनाबारे जिज्ञासा राखेका थिए । नारी सीप सिर्जना केन्द्र नेपालले गाउँपालिकाको सात वटा वडामा सचेतनामूलक तथा जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।




