खासकुरा संवाददाता
हेटौँडा, पुस २ गते । बागमती प्रदेश सभाका विपक्षी दलहरुलेले बागमती प्रदेश सरकारसँग तत्काल प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् ।
तीन बुँदे ज्ञापनपत्र बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई बुझाउँदै तत्काल अधिवेशन नबोलाए प्रदेशसभा नियमावली अनुसार अघि बढ्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलहरु एकीकरण भएर बनेको नेपाली कम्युनिष्ट पार्टी र हाम्रो नेपाली पार्टीले ज्ञापनपत्र सरकार प्रदेशसभाप्रति उत्तरदायी नभएको, लामो समयसम्म प्रदेश सभा छलेर भाग्न खोजेको र सरकारले जनताका आवाज उठाउने थलो प्रदेश सभालाई बन्द गरेर ‘कानमा तेल हालेर बसेको’ आरोप लगाएका छन् ।
सरकारको गैरजिम्मेवारीपनले चालु बजेट (वर्षे) अधिवेशन हठात अन्त्य गरेको, जेनजी विद्रोहपछि देश संकटमा रहेको र संघीय संसद् समेत विघटन भएको अवस्थामा प्रदेश सभालाई नै अनिर्णयको बन्दी बनाइएको उनीहरूको भनाइ छ ।

लामो समयदेखि सभामुख चयन हुन नसक्दा सचिवालय र समितिहरू समेत ठप्प भएको भन्दै विपक्षी दलहरुले सरकारले स्वेच्छाचारी ढङ्गले विनियोजित बजेटमा ५० प्रतिशतसम्म कटौती गरेकोले त्यसलाई तत्काल सच्याउन माग गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सभाबाट पारित बजेट कटौती गर्दा प्रतिपक्षसँग सामान्य परामर्श समेत गरिएन । सरकार एकल र स्वेच्छाचारी ढङ्गले चल्नुले हामीलाई गम्भीर बनाएको छ ।’
ती दलहरुले सरकारसँग तीन बुँदे माग राख्दै तत्काल हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने, चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट कटौती नगरी हुबहु कार्यान्वयन गर्नुपर्ने र संसदमा टेबल भई पारित भएका थप योजनामा बजेट व्यवस्था गर्नुपर्ने भनेका छन् ।
ज्ञापनपत्रमा बागमती प्रदेशसभाका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता शालिकराम जम्कट्टेल, नेकपाकै वसन्त मानन्धर र हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ ।




