एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

लोकप्रिय

हेटौँडा, पुस २ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानबाट सुरुभएको मतदान जारी रहेको छ । अध्यक्ष पदका प्रत्यासीहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय भोटिङ मेसिनमा परीक्षण मतदान गरेसँगै महाधिवेशन प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको थियो ।
भृकुटीमण्डपमा जारी महाधिवेशन स्थलमा बिहानैदेखि प्रतिनिधिहरू लामवद्ध भएका छन् । प्राविधिक कारणले पटक–पटक सारिएको मतदान मङ्गलबार राति अबेरसम्म पनि सुरु हुन नसकेपछि बुधबार बिहानका लागि सारिएको थियो ।

निर्वाचन आयोगले ८० वटा विद्युतीय मेसिनको व्यवस्था गरेको छ । मतदाताको चाप व्यवस्थापनका लागि एकपटकमा ५० जना मात्र मतदान कक्षमा प्रवेश गर्ने र महिला–पुरुष छुट्टै लाइनको व्यवस्था मिलाइएको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष ओली र वरिष्ठ नेता पोखरेलबिच प्रतिस्पर्धा छ ।
दुवै नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । कुल दुई हजार दुई सय ६३ जना महाधिवेशन प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि मतदान गर्दैछन् । केही पदमा निर्विरोध चयन भइसकेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र नयाँ नेतृत्व घोषणा हुने अपेक्षा गरिएको छ ।

महाधिवेशन स्थलमा विभिन्न प्यानलका समर्थकहरूले नारा लगाउँदै अन्तिम मत माग्ने क्रम जारी छ । यस महाधिवेशनले पार्टीको संगठन सुदृढीकरण र भावी रणनीतिलाई प्राथमिकता दिएको छ ।
यसैबिच एमालेको निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरु प्रवेश गर्ने समय राति १२ बजेसम्म थप भएको छ । एमाले नेता शंकर पोखरेलले मतदान केन्द्रमा मतदाताहरुलाई प्रवेशको समय राति १२ बजेसम्म थप भएको जानकारी दिनुभयो ।
यसअघि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म तय भएको थियो । निर्वाचनमा अहिलेसम्म १२ सय ८२ मत खसेको छ । सो निर्वाचनमा दुई हजार २६३ जना मतदाताले मतदान गर्दैछन् ।

 

ताजा समाचार

Related Articles