एमाले नेता काशिनाथ अधिकारी सक्रिय राजनीतिबाट बिदा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ४ गते । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गर्नुभएको छ ।
यसअघि संगठन विभाग प्रमुख रहनुभएका अधिकारीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा लिएको बताउनुभएको छ ।
फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ, गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद ब्यक्तगरेर , खुसीले, ६६ बर्षको उमेरमा सक्रिय राजनीतिबाट विदाभएको छु ।
लामो राजनीतिक जीवनमा मबाट भएका भूलचुकहरू प्रति सम्बन्धित सबैसँग क्षमा माग्दछु, ३३ वर्ष केन्द्रीय कमिटीमा काम गर्दा पनि आफू नेता नभएको भन्दै यो महाधिवेशनदेखि सक्रिय राजनीतिबाट बिदा भएको उहाँले बताउनुभएको हो ।

अधिकारी एमालेको पाँचौं महाधिवेशनदेखि लगातार केन्द्रीय कमिटीमा रहँदै आउनुभएको थियो ।
‘पचास वर्षको राजनीतिक जीवनमा ४४ वर्ष पूर्णकालीन भएर काम गरे। जति दिन काम गरेँ पूरा मनले गरेँ। इमान, निष्ठा र समर्पणकासाथ गरेँ। तन, मन र धन समेत दिएर निसर्त तथा निस्वार्थ रूपमा गरेँ,’ उहाँले भन्नुभएको छ ।
नेता अधिकारी २०४१ वैशाख ९ गतेदेखि तत्कालीन नेकपा ( माले ) मकवानपुर जिल्ला संगठन कमिटीको सचिव तथा माले नारायणी क्षेत्रीय संगठन कमिटीको सदस्य २०४५ साउनसम्म रहनुभएको थियो ।
आफू ल्यांगल्यांगे कार्यशैलीको विरोधी रहेको भन्दै उहाँले जसरी पनि जिम्मा पूरा गर्ने मेरो कार्यशैली रहेको फेसबुकमा उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेकपा(एमाले) मा लगातार ३३ वर्ष केन्द्रीय सदस्य भए पनि म कहिल्यै नेता थिइन। म कार्यकर्ताको पात्रता भएको राजनीतिकर्मी थिएँ। समाज बदल्न हिँडेको वास्तविक झोले कार्यकर्ता थिएँ। मैले कहिल्यै पनि पद र अवसरका लागि मरिहत्ते गरिन। सपना असल कम्युनिस्ट बन्ने थियो तर सबै मानकहरू पूरा गर्न सकिनँ ।’
उहाँले अब पार्टीका कुनै पनि कमिटी र निकायमा नरहने बताउँदै साधारण सदस्य रहेर पार्टी, समाज, र देशका हितमा यथासम्भव काम गर्ने भन्नुभएको छ ।
‘गुनासो गरेर होइन, नेतृत्वप्रति आभार र धन्यवाद व्यक्त गरेरसक्रिय राजनीतिबाट बिदा भएको छु ’ उहाँले भन्नुभएको छ ।
लामो समयदेखि ओली निकट रहेका काशीनाथ अधिकारीले एमालेको जारी ११औं महाधिवेशनमा कुनै पदमा उम्मेदवारी दिनुभएन ।
उहाँलाई पार्टीको अनुशासन आयोग प्रमुखमा उम्मेदवार प्रस्ताव गरिएको थियो । अधिकारी २०५१ सालमा चितवनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

ताजा समाचार

Related Articles