बिना योजना घर भत्काउँदा हेटौँडा बजार अस्तव्यस्तः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, पुस ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडालाई भत्काएर अस्तव्यस्त र प्रेतआत्माको सहर जस्तै बनाइएको बताउनुभएको छ ।
हेटौँडामा सोमबार आयोजित एक कार्यक्रममा उहाँले सङ्घीय सरकार निर्दयी बन्दा हेटौँडाको अहिलेको अवस्था सिर्जना भएको भन्दै निजी भवन भत्काएर खण्डहर बनाइएको र सरकार निर्दयी बन्न नहुने बताउनुभयो ।

हेटौँडा बजार भत्काएर अध्याँरो बनाइएको छ, खण्डहर बनाइएको छ, बजारलाई भूत बङ्गला जस्तो बनाइएको छ, मानव नभएको प्रेतआत्माको सहर जस्तो बनाइएको छ, मुख्यमन्त्री बानियाँले भन्नुभयो, पार्टीको नाम उज्यालो रे अहिले हेटौँडा भत्काएर सबै अध्याँरो बनाइएको छ, खण्डहर र भूत बङ्गला जस्तै बजार बनाइएको छ ।
पूर्व तयारी व्यवस्थापन नगरी हेटौँडा बजारलाई भत्काउने काम गरियो, भत्काउनुअघि समाधान दिएर भत्काउनु पथ्र्यो योजनासहित सरकारले घरहरु भत्काउनु पर्ने हो तर समाधान र बिना योजना भत्काइएको छ उहाँले प्रश्न गर्नुभयो, हेटौँडा मानवको सहर हो वा मानवरहित सहर हो, कस्तो सहर बनाउन खोजिएको हो ?

भवन भत्काएपछि विद्युत् छैन, घरमा बस्नेको अवस्था के हुने हो, साँझ हिड्न डरलाग्दो छ, सुरक्षाको अवस्था त्यस्तै छ, घर हुनेहरुको अवस्था दर्दनाक छ, नागरिकमा अन्योल र भयको वातावरण रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, सरकारले समाधान दिने हो उल्जन दिने होइन, नागरिक अन्धकारमा हिड्नु र बस्नु पर्ने अवस्था छ ।
मुख्यमन्त्री बानियाँले सरकार कठोर हुनुपर्छ, व्यवस्था चलाउन तर सरकार निर्दयी हुन नहुने र सरकार निर्दयी भएर काम नचल्ने भन्दै अहिले भत्किएको हेटौँडाको समस्यालाई समाधान दिन आवश्यक भएको र यसमा प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभयो । नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति समेत रहनुभएका बानियाँले प्रदेश सरकारको भूमिका तीन तहको सरकारबिच द्वन्द्व सिर्जना गर्ने भन्दा समन्वय गर्ने भएको भन्दै आफूहरुले समन्वय र सहकार्य गरेर काम गर्न चाहेको बताउनुभयो ।
कांग्रेस बोल्ने एउटा र गर्ने अर्को पार्टी नभएको भन्दै उहाँले प्रदेश सरकारले हेटौँडाको अव्यवस्थालाई समाधान गर्न प्रयास गर्ने बताउनुभयो ।
हेटौँडाको अहिलेको समस्या समाधान गर्न चाहेको र सहजीकरण गरिने उहाँको भनाई छ ।

ताजा समाचार

Related Articles