हेटौँडा, पुस १० गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रो साझा पहिचानभएको बताउनुभएको छ ।
मुख्यमन्त्री बानियाँले क्रिसमस–२०८२ को अवसरमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताउनुभएको हो ।
बागमती प्रदेश सरकार धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबिच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

शुभकामना सन्देशमा उहाँले यस पर्वले हाम्रो सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरी समाजवादको लक्ष्य हासिल गर्न हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरणा गर्ने बताउनुभएको छ ।
मानव जगत्लाई मुक्तिको सुसमाचार सुनाउने उद्देश्यले प्रभु येशू ख्रिस्टको जन्म भएको हो । येशू ख्रिस्ट सन्सारमा रहँदा बस्दा मानव जातीमा आशा, विश्वास र प्रेमको बारेमा शिक्षा दिई असल मार्गमा हिँड्न प्रेरित गराएको हामी पवित्र बाइबलबाट पाउँदछौँ शुभकामना सन्देशमा भनिएको छ, जसको मूल उद्देश्य मानव जातिमा प्रेम, सद्भाव, करुणा र शान्तिको आभास गराउनु थियो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश हो । अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान हुन् । यहाँका प्रत्येक जातजाति र समुदायको आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेको मौलिक परम्परा रहेको उहाँले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री बानियाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्रको रूपमा रहेको हाम्रो मुलुकको राष्ट्रिय संस्कृतिको एक महत्त्वपूर्ण अङ्गको रूपमा क्रिसमस पर्व पनि स्थापित हुँदै गएको भन्दै यस प्रदेश भित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै तिनको विकासको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदैव तयार रहेको बताउनुभएको छ ।
क्रिसमस–२०८२ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै शुभकामना सन्देशमा अगाडि भन्नुभएको, यस्तो प्रेरणाले हाम्रो परिवार, समाज र राष्ट्रको समृद्धि र कल्याणको लागि नयाँ ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएको छु ।




