काठमाडौँ, पुस १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ले नेपालीबिच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने बताउनुभएको छ । मङ्गलबार तमु ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले नेपालको ऐतिहासिक, साँस्कृतिक र सामाजिक परम्पराको संरक्षण तथा संवर्द्धन गर्दै सामाजिक एकता, मेलमिलाप तथा पर्यटन प्रवर्द्धन गर्न यस पर्वले थप टेवा पुर्याउने अपेक्षा गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘ गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवन शैलीसँग सम्बन्धित यस पर्वले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउनुका साथै सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।’’

यसैगरी, राष्ट्रपति पौडेलले तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक, सामाजिक र साँस्कृतिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर भई प्रगति पथमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरूभएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन छ । गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाहरूमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।




