मकवानपुर, पुस १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । मुख्यमन्त्री बानियाँले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा मङ्गलबार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको भन्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनुभएको छ । यहाँका प्रत्येक जातजाति र समुदायका आ–आफ्नै सांस्कृतिक महत्त्व बोकेको मौलिक परम्परा रहेको शुभकामना सन्देशमा भनिएको छ । उहाँले बागमती प्रदेश सरकार धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबिच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले शुभकमना सन्देशमार्फत प्रदेश भित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्धन गर्दै तिनको विकासका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहेको विश्वास समेत दिलाउन भएको छ । गुरुङ समुदायलाई चिनाउने परम्परागत रूपमा मनाइँदै आएको तमु ल्होसारलाई यस समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । आज गुरुङ समुदायको नयाँ वर्ष हो शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले भन्नुभएको छ, ‘‘विशेषतः तमु ल्होसार पर्वलाई गुरुङ समुदायले नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको महसुस गरेका छौँ ।’’

मुख्यमन्त्री बानियाँले साँस्कृतिक रूपमा धनी तमु (गुरुङ) समुदायले आफ्नो संस्कृतिको संरक्षण एवम् प्रवर्धन गर्नका लागि आफ्नो सांस्कृतिक परम्परा, प्रथा एवम् चालचलनलाई व्यवस्थित गर्नका लागि गरिएका प्रयास अनुकरणीय रूपमा स्थापित हुँदै आएका भन्दै तमु ल्होसार २०८२ पर्वले सबै किसिमका असमानता अन्त्य गर्न प्रेरणा दिन विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र मेलमिलाप बढाई हाम्रो सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षासहित तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।




