हेटौँडा, असार ७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले योगले मानिसमा सकारात्मक ऊर्जाको सञ्चार गर्दै देशभक्ति, अनुशासन र भ्रातृत्वको भावना जागृत गराउन मद्दत पु¥याउने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आइतबार शुभकामना दिँदै उहाँले स्वस्थ नागरिक नै राज्यको वास्तविक पूँजी भएको उल्लेख गर्नुभयो । “हाम्रो राष्ट्रका प्रत्येक नागरिकलाई शारीरिक र मानसिक रूपमा सबल बनाई समृद्ध समाज निर्माण गर्न योग र प्राणायामलाई दैनिक जीवनको अभिन्न अङ्ग बनाउनु आवश्यक छ” उहाँले भन्नुभयो, “यस दिशामा योगको सन्देश र अभ्यासलाई गाउँ–टोलसम्म पु¥याउन विभिन्न सामाजिक संस्थाहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय छ ।”

योगले सबैलाई सभ्य, स्वस्थ र सुसंस्कृत समाज निर्माणमा लाग्न थप ऊर्जा र प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले योगलाई हाम्रो प्राचीन पूर्वीय दर्शन, वैदिक संस्कृति र गौरवमय जीवनपद्धतिको एक अमूल्य निधि भएको बताउनुभयो ।

“योगको अर्थ जोडिनु हो । यसले शरीर, मन, बुद्धि र आत्मालाई एकाकार मात्र गर्दैन, व्यक्ति, समाज र प्रकृतिसँग पनि एकआपसमा जोड्दछ” उहाँले भन्नुभयो । आजको आधुनिक, व्यस्त र तनावपूर्ण जीवनशैलीमा शारीरिक रूपमा निरोगी रहन, मानसिक रूपमा शान्त बन्न तथा भावनात्मक रूपमा सन्तुलित रहन योगको सान्दर्भिकता र अपरिहार्यता झन् बढेर गएको उहाँको भनाइ छ ।

साथै, उहाँले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।




