मकवानपुर, पुस १५ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हाम्रा मौलिक चाडपर्वहरु सम्पन्नताका परिचायक भएको बताउनुभएको छ । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्वको अवसरमा मङ्गलबार शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विविधताबिचको अभूतपूर्व एकता र मेलमिलाप हाम्रो गौरव हो र रहनुपर्ने बताउनुभएको छ ।

सम्पन्नतालाई आर्थिक समृद्धिमा मात्र नहेरी मौलिक कला, संस्कृति र रहनसहनसँग जोडेर हेर्नुपर्दछ । बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक सम्पदाका धनी हामी नेपाली भौतिक समृद्धिको उच्चतम विन्दुमा पुगेका राष्ट्रका जनताभन्दा खुशी र समृद्ध छौँ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । यो पर्व नेपालको मुख्यतया पहाडी क्षेत्रमा बसोबास गर्ने संस्कृतिका धनी गुरुङ समुदायद्धारा नयाँ वर्षको रुपमा मनाइने गरिन्छ । तमु ल्होसार तमु अर्थात गुरुङ समुदायको महान चाड हो ।

ल्होसारको अघिल्लो दिनदेखि नै पुजापाठ, नाचगान, भोजभतेर गरेर नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन ढोगभेट र शुभकामना आदानप्रदान गरिन्छ । मौलिक पहिरनमा सजिएर खानपिन, नाचगान र हर्षोल्लासका साथ गुरुङ समुदायले आफ्नो मौलिक कला र संस्कृतिको पहिचान प्रस्तुत गर्दछन् प्रदेश प्रमुख देवकोटाद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमार्फछ तमु ल्होसार पर्वले एकता, सहकार्य र विकासको मार्गमा डोर्याई स्थिरता, शान्ति र समृद्धि हासिल गर्ने हेतु अघि बढ्न सम्पूर्ण नेपालीलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।




