काठमाडौँ, वैशाख १४ गते । बर्सौंदेखि छाप्न बाँकी रहेका १२ लाखप्रति स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सम्पन्न भएको छ । सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबिच भएको पहिलो चरणको सम्झौता अनुसार उक्त छपाइ सम्पन्न भएको हो । छापिएका लाइसेन्स वैशाख १४ गते औपचारिक कार्यक्रम गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले पहिलो चरणको सम्झौता अनुसार १२ लाखप्रति कार्ड छापिइसकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “१२ लाखप्रति कार्ड आउने सोमबार हस्तान्तरण गर्छौं । हामीले दैनिक ४० लाख त दुई सिफ्टमा सामान्य रूपमै छापियो तर कहिलेकाहीँ ६० हजारसम्म पनि छापियो ।” केन्द्रले दोस्रो चरणमा १७ लाखप्रति लाइसेन्स छाप्दै छ, जसको सम्झौता वैशाख ४ गते भएको थियो । एक महिनालाई पुग्ने प्रिन्ट कार्ड केन्द्रसँग रहेकाले दोस्रो चरणको सम्झौता पनि असार मसान्तसम्म सम्पन्न गरिसक्ने बताउँदै ढुङ्गानाले भन्नुभयो, “एक महिनालाई पुग्ने कार्ड छ । बाँकी कार्डको खरिद प्रक्रिया पूरा भइसकेको छ । काम रोकिने र रोक्नुपर्ने अवस्था छैन ।”

१२ लाखप्रति लाइसेन्स छापेको केन्द्रले असार मसान्तसम्म थप १७ लाखप्रति लाइसेन्स छाप्दै छ । जुन पुरानो बाँकी रहेका २९ लाख लाइसेन्सको सङ्ख्या छ । उहाँले भन्नुभयो, “असार मसान्तसम्म १७ लाख लाइसेन्स छापिएपछि साउन १ गतेबाट छाप्न बाँकी काम रहँदैन । साउन १ गतेबाट रसिद बोकेर हिँड्नु पर्दैन । त्यसपछि एउटा नियमित प्रक्रियामा जान्छ ।”

साउन १ गतेबाट लाइसेन्स छाप्न बाँकी समस्या सदाका लागि समाधान हुने केन्द्रले जनाएको छ । माग अनुसार लाइसेन्स छाप्न नसक्दा दुई तीन वर्षसम्म कुर्नुपर्ने अवस्था थियो । विगतमा दैनिक चार हजार छापिँदै आएकोमा हाल झन्डै चालिस हजारप्रतिसम्म छापेपछि समस्या समाधान हुने भएको हो ।




