हेटौँडा, पुस १६ गते । हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु र दुई जना घाइतेभएका छन् ।
हेटौँडा उपमानगरपालिका १६ सिपाली चोकमा सवारी दुर्घटना भई घाईते भएका मोटरसाइकल चालक मानबहादुर मानन्धरको उपचारको क्रममा मृत्युभएको हो ।
हेटौँडा–धरान–चतरा सडक खण्ड अन्तर्गत हेटौँडा सिपाली चोकमा शनिबार भएको सवारी दुर्घटनामा घाइते भएका भएका ४२ वर्षीय मानन्धरको उपचारको क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मानन्धरको गएराति ८ः३० बजे डाक्टरले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

हेटौँडा १६ को हटिया तर्फबाट ठुलोदमारतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१क ०१४३ नं.को १० चक्के टिपरले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश०३–००३ प ३१९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिइँ दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौँडा १७ का मानन्धर गम्भीर घाईते हुनुभएको थियो ।
दुर्घटनापछि फरार रहेका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ सुकौराका ४० वर्षीय तिलक बहादुर पाख्रिनलाई खोजतलासका क्रममा बानियाँ कन्ट्रक्सनको ग्यारेजमा पार्किङ गरी राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै हेटौँडा ७ नागस्वती बेलिब्रिज नजिक भित्री सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
नागस्वती चोकमा बा ४२ प ४८० न.को मोटरसाइकलले बा २० च ५५८४ न.को कारमा ठक्कर दिई नागस्वतीबाट बेलिब्रिजतर्फ भाग्ने क्रममा कार चालकले मोटरसाइकललाई पिछा गर्दै जाँदा बेलिब्रिज नजिक उक्त कारले सोही मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४९ प ४२६५ न.को स्कुटरलाई समेत ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
दुर्घटनामा घाइते भएका स्कुटर चालक हेटौँडा ७ नागस्वतीका ४२ वर्षीय सबिन चौलागाईलाई मेडिकल कलेज भरतपुरबाट थप उपकारका लागि बुधबार बिहान बिएण्डबी अस्पताल ललितपुर रिफर भएको छ भने मोटरसाइकल चालक जितपुरसिमरा उपमानगरपालिका ४ घर भई हाल सोही स्थान बस्ने ६१ वर्षीय गोबिन्द शाहको हेटौँडा अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।




