काठमाडौं, पुस २२ गते । निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सूचना प्रविधिको दुरुपयोग रोक्न सबै निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिएको छ । निर्वाचन आचारसंहिता, २०८२ अनुसार गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकमा सो निष्कर्ष निकालिएको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आचारसंहिता कार्यान्वयनमा प्रविधिको दुरुपयोग रोक्न आयोगले उपलब्ध सबै संयन्त्रलाई प्रभावकारी रूपमा प्रयोग गर्ने र नियामक, अनुसन्धान तथा अभियोजन गर्ने निकायसँग घनिष्ठ सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

बैठकमा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले राजनीतिक दलहरूसँग परामर्श गरेर आचारसंहिता लागू गरिने जानकारी दिनुहुँदै निर्वाचनका समयमा प्रवाह हुने मिथ्या तथा भ्रमपूर्ण सूचना न्यूनीकरणमा आयोग सचेत रहेको बताउनुभयो । अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त सगुन शम्शेर जबराले विगतका कमजोरीलाई सुधार गर्दै यस पटक निर्वाचन आचारसंहिता कार्यान्वयनमा गुणात्मक उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनको स्वच्छता र निष्पक्षता सुनिश्चित गर्न सूचना प्रविधिको दुरुपयोगबाट सिर्जना हुने चुनौती रोक्न आयोगले सबै पक्षसँग सहकार्य गर्ने उहाँको भनाइ थियो ।

सहभागी सदस्यहरूले सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक विधिलाई एकसाथ अघि बढाउनु उपयुक्त हुने धारणा व्यक्त गरेका थिए ।




