हेटौँडा, पुस २२ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ मा रहेको सीता माध्यमिक विद्यालय स्थापनाको ५० औँ वार्षिकोत्सव तथा स्वर्ण जयन्ती सुरु भएको छ । बामगती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सोमबार महोत्सवको उद्घाटन गर्नुभयो ।
सो अवसरमा उहाँले प्राविधिक र रोजगारमूलक शिक्षा आजको आवश्यकता भएको भन्दै शिक्षालाई प्रविधिसँग जोड्दै आयमूलक बनाउनुपर्ने बताउनुभयो । मुख्यमन्त्री बानियाँले माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षालयको रुपमा स्थापित गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।

‘अबको शिक्षा भनेको प्रविधि र आयमूलक हुन जरुरी छ । बेरोजगार उत्पादन गर्ने शिक्षा अब आवश्यक छैन ।’ मुख्यमन्त्री बानियाँले भन्नेुभयो‘अब भौतिक पूर्वाधार मात्रै होइन । गुणस्तरीय शिक्षा पनि आवश्यक छ । पढ्दै कमाउँदै गर्नसक्ने शिक्षा प्रदान गराउन प्रदेश सरकारले पनि ध्यान दिनेछ ।’
मनहरी गाउँपालिका २ नम्बर वडास्थित भिमानमा २२ परिवार अत्यन्त विकट क्षेत्रमा बसोबास गरिरहेको भन्दै सुरक्षित र सुविधायुक्त स्थानमा बस्ती स्थानान्तरण गर्नेतर्फ आफूहरुको ध्यानाकर्षण भएको मुख्यमन्त्री बानियाँले बताउनुभयो ।
मनहरी–२ र ३ जोड्ने खोलामा बेलिब्रिजको आवश्यकता रहेको भनी स्थानीयले गुनासो गरेको भन्दै मुख्यमन्त्री बानियाँले सो पुल निर्माणमा प्रदेश सरकारले बजेट व्यवस्थापन गर्ने पनि प्रतिवद्धता जनाउनुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार थिङको अध्यक्षताम भएको स्वर्ण महोत्सव उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडा नम्बर २ का वडाध्यक्ष राजकुमार पाख्रिन, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, ३ नम्बर वडाध्यक्ष अनन्तप्रकाश अर्याल, १ नम्बर वडाध्यक्ष शिवप्रसाद खनाल, मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुली, विद्यालय निरीक्षक विदुर थापा, स्थानीय समाजसेवी राम घलान, एकराज पुरी, विद्यालयका संस्थापक अध्यष बौद्धजीत गोङ्बा, निर्मल बहुमुखी क्याम्पस प्रमुख प्रबोध बिडारी, क्याम्पस सञ्चालक समिति अध्यक्ष राजकुमार भेटवाललागयतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकैबीच संस्थापक अध्यक्ष बौद्धजीत गोङ्बालाई सम्मान गरिएको थियो ।
तीन दिनसम्म चल्ने स्वर्ण महोत्सवमा विभिन्न कार्यक्रमको आयोजना हुनेछ ।




