विराटनगर, पुस २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको राजनीतिक सहमतिअनुसार यसअघिका मन्त्रीलाई हटाएर मङ्गलबार नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त आठ जना मन्त्री र दुई जना राज्यमन्त्रीले मङ्गलबार प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराउनुभएको हो । नयाँ मन्त्रिपरिषद् कांग्रेस एमाले दुवै दलबाट चारचार जना मन्त्री र एकएक जना राज्यमन्त्री सहभागी गराइएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्बाबाट प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिँदा भीम पराजुलीलाई पर्यटन, वन तथा वातावरण मन्त्री बनाइएको छ । तिलचन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा र इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, रामप्रसाद महतो सामाजिक विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री र इसाईल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

राज्यमन्त्रीतर्फ शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । जसमा प्रदीपकुमार सुनुवार, भीम पराजुली, मानबहादुर लिम्बु, इसाईल मन्सुरी र शोभा चेम्जोङ कांग्रेसबाट हुनुहुन्छ भने, तिलचन पाठक, इन्द्रमणी पराजुली, बिदुर लिङ्थेप, रामप्रसाद महतो र उमाकान्त गौतम एमालेबाट हुनुहुन्छ । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 




