खासकुरा संवाददाता
मकवानपुर, पुस २७ गते । मकवानपुरका बीउ र विषादी व्यवसायीहरु मर्यादित र जिम्मेवार व्यवसायमा जोड दिएका छन् ।
नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समन्वय समिति मकवानपुर र विषादी व्यवसायी सङ्घ नेपाल जिल्ला समन्वय समिति मकवानपुरको शनिबार हेटौँडामा भएको संयुक्त साधारण सभाका वक्ताहरुले यस्तो बताएका हुन् । 

नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समन्वय समिति मकवानपुरको ११ औँ र विषादी व्यवसायी सङ्घ नेपाल जिल्ला समन्वय समिति मकवानपुरको दोस्रो साधारण सभाका वक्ताहरुले बीउ र विषादी दुवै संवेदनशील वस्तु भएको भन्दै आयातलाई निरुत्साहित गर्न सरकारले नेपालका निजी क्षेत्रलाई लगानीमा प्रोत्साहित गर्ने गरी नीति निर्माण गर्नुपर्ने सुझाएका थिए ।
कार्यक्रममा कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलले रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोगमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

उहाँले बीउमा परनिर्भरता हटाउन देशमा नै बीउ उत्पादन गर्नुपर्ने भन्दै बीउ र विषादीको उत्पादन र बिक्री वितरणमा देखिएका व्यवसायीका समस्या समाधानमा सरकारले सहजीकरण गर्ने बताउनुभयो ।
नेपाल बीउ व्यवसायी सङ्घका केन्द्रीय महासचिव विश्वराज बानियाँले व्यवसायी एउटै र संस्था दुई वटा हुँदा समस्या भएकोले केही जटिलता फुकाउँदै एउटै बनाउनुपर्ने औल्याउनुभयो ।
बीउ समृद्धि र राष्ट्रियतासँग पनि जोडिएको हुन्छ, नेपाली जातको बीउ विकास आवश्यक छ उहाँले भन्नुभयो, गुणस्तरीयतामा प्रतिस्पर्धा गरौँ, स्वस्थ प्रतिस्पर्धा आवश्यक छ ।
उहाँले विषादीको उचित रुपमा प्रयोग नगर्दा मानव स्वास्थ्य र वातावरणमा असर पर्ने भन्दै व्यवसायीको पहिचान गरी तालिम दिनुपर्ने बताउनुभयो ।

नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष कृष्णकाजी प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा बीउ व्यवसायी सङ्घ बागमती प्रदेशका अध्यक्ष हरिशरण अर्याल, विषादी व्यवसायी सङ्घ नेपाल जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष सुवास मल्ल ठकुरी, उपाध्यक्ष निराजन बर्तौलालगायतले बीउ राम्रो नहुँदा व्यवसायीभन्दा किसान समस्यामा पर्ने भएको संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो ।
साधारण सभामा नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समन्वय समिति मकवानपुरका सचिव फेन्चु लामा र विषादी व्यवसायी सङ्घ नेपाल जिल्ला समन्वय समिति मकवानपुरका सचिव नेत्रप्रसाद ढुङ्गानाले पेस गर्नुभएको संस्थाको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको थियो ।




