इनरुवा, माघ १ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–९ सोनयाहीमा आज ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय ब्रहमदेव गुरुङ, ५० बर्षीय टङक गुरुङ, २८ बर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनामा बर्जु गाउँपालिका–१ का सुन्दर गुरुङ, बैजनाथ गुरुङ र मानबहादुर गुरुङ घाइते भएका छन् ।

विराटनगरबाट मार्बल बोकेर हुलाकी राजमार्ग हुँदै राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको उहाँले बताउनुभयो । ट्रक पल्टिँदा लोड गरिएको मार्बलमाथि बसेका पाँच जना कामदार मार्बलले किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।




