काठमाडौँ, माघ ५ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सि मङ्गलवार उम्मेदवारको मनोनयन–पत्र दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले आ–आफ्नो निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन–पत्र दर्ता गर्न सक्ने आयोगले जनाएको छ । 

मनोनयन–पत्र दर्ता गर्दा उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा, पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा, प्रस्तावक र समर्थकले सहिछाप गरेको रितपूर्वकको मनोनयन पत्र पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

यसैगरी धरौटी रकम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद, उम्मेदवार हुने व्यक्तिको स्वघोषण, निर्वाचन आचारसंहिता बमोजिमको प्रतिबद्धता लगायतका आवश्यक कागजात पेश गर्नुपर्ने आयोगले जनाएको छ ।




