सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माण आवश्यकः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, माघ ४ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गरिबको हित हेर्ने र गर्ने शासन व्यवस्था भएको बताउनुभएको छ ।
उहाँले सुशासनयुक्त र भ्रष्टाचारमुक्त समाज निर्माणममा लाग्नु पर्ने भन्दै न्यायमुखी, आयमुखी, विकासमुखी अनि गाउँमुखी हुनुपर्छ र यो हाम्रो मूल सिद्धान्त भएको बताउनुभयो ।
हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यमिक विद्यालय स्थापनाको अवसरमा यहाँ आयोजित स्वर्ण महोत्सव कार्यक्रमको आइतबार उद्घाटन गर्दै उहाँले अहिले गरिखाने शिक्षा प्रणाली आवश्यक बताउनुभयो ।

उहाँले नयाँ पुस्ताले खोजेको र रोजेको शिक्षा आवश्यक भएको भन्दै यो सूचना र प्रविधिको युग हो । नयाँ प्रविधिको प्रयोग भ्रम सिर्जनासमेत गरेकोले सत्य र भ्रम के हो छुट्याउने जनशिक्त उत्पादन आवश्यक भएको बताउनुभयो ।
जीवनमा खोजेको कुरा एकै पटक प्राप्त हुँदैन । दशकौ लाग्छ, तुरुन्त प्राप्ति भनेको समाजमा विध्वङ्श खडा हुन सक्छ, द्वन्द्व र विग्रह हो। नकारात्मक भाष्य खडा गर्न सकिन्छ मुख्यमन्त्री बानियाँले भन्नुभयो, सकारात्मक र समृद्धिको बाटोमा हिड्न समय लाग्छ । समय कठिन पनि हुन सक्छ ।
उहाँले विद्यालयलाई प्राविधिक शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

शिक्षक कर्मचारी, राजनीतिककर्मी कोहीले पनि भ्रम सिर्जना गर्ने कार्य गर्नु हुँदैन, जेन्जी आन्दोलनमा शिक्षक नै चोरीमा संलग्न भएको पाइयो यसले अब नैतिक शिक्षाको खाँचो देखिएको भन्दै उहाँले अब बागमती प्रदेश सरकारले नैतिक शिक्षालाई प्राथमिकता दिने बताउनुभयो ।
नैतिकता हराउँदै गयो, कमजोर भयो यसैले नैतिक शिक्षा आवश्यक भएको उहाँको भनाई छ ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कन्चन चन्द्र बादेले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको भन्दै सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्यद्वय एका लाल श्रेष्ठ र भारती पाठकले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षा आवश्यक भएको बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष एवं स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हिरालाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरुलगायतलाई सम्मान, स्वर्ण महोत्सव स्तम्भको अनावरण र स्मारिका विमोचन गरिएको थियो ।
विद्यालयले स्वर्ण महोत्सव माघ ८ गतेसम्म विविध कार्यक्रम गरी मनाउँदै छ ।

ताजा समाचार

Related Articles